सरकार र आन्दाेलनरत शिक्षकबीच गृहमन्त्रालयमा वार्ता
वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डा. प्रकाशशरण महत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र सम्बन्धित मन्त्रालयका सचिवहरु सहभागी छन्।
काठमाडौं, असोज ४ : सरकार र आन्दोलनरत शिक्षकबीच गृहमन्त्रालयमा वार्ता सुरु भएको छ।
कही समय अगाडि सुरु भएको वार्तामा चार मन्त्रीहरुसहित सचिवहरु सहभागी छन्। जसमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डा. प्रकाशशरण महत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र सम्बन्धित मन्त्रालयका सचिवहरु छन्।
आन्दोलनरत शिक्षकहरुका तर्फबाट शिक्षक महासंघका पदाधिकारीहरु सहभागी रहेको बताइएको छ।
देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूले सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिन नहुने, शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्नेजस्ता राजनीतिक र सेवा सुविधासँग सम्बन्धित गरी १७ बुँदे माग राखेर बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ।
शिक्षकहरूले माइतीघर र बानेश्वरमा प्रदर्शन गरेका थिए। बिहीबार बिहान पनि शिक्षक र सरकारबीच छलफल भएको थियो। तर उक्त बैठक निष्कर्षविहीन भएको थियो।
सरकारले विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा दर्ता गरेपछि त्यसमा रहेका प्रावधानप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरुले आन्दोलन गरेका हुन्। उनीहरुले आफूहरुको माग शिक्षा मन्त्रालयले मात्र पूरा गर्न नसक्ने भन्दै अर्थ, शिक्षा र कानुन मन्त्रीको उपस्थितिमा मात्र वार्ता गर्ने अडान गर्दै आएका थिए।











