समाजवादीका नेता नेपालको झलनाथलाई छेड्खानी

काठमाडौँ, असोज ४ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई लक्षित गर्दै पार्टीका समस्या बाहिर गीत गाएर समाधान नहुने बताएका छन्।
समाजवादीको पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालले खनालप्रति यस्तो छेड्खानी गरेका हुन्। पार्टी अध्यक्ष नेपालले गरेको कार्य विभाजनप्रति पार्टीका सम्मानित नेता झलनाथ खनालले असन्तुष्टि जनाउँदै आएका छन्। खनालप्रति लक्षित गर्दै नेपालले पार्टीभित्रका समस्या पार्टीकै बैठकमा बसेर समाधान गर्नुपर्ने बताए।
‘पार्टीभित्र अनेकौँ समस्याहरू हुन्छन्, ती समस्याहरू पार्टीले नै हल गर्छ। बाहिर गीत गाएर हिँड्ने होइन। बाहिर नाचेर हिँड्ने कुरा भएन,’ नेपालले संचारकर्मीसँग भने, ‘केही समस्याहरू छन् भने पार्टीको बैठकमा बस्ने, अनुशासनको ज्ञान भएकाले त्यो ढङ्गले गर्छन्, अनुशासनको ज्ञान नभएकाले जे पनि भन्न सक्लान्। पार्टीको हित चाहने एक ढङ्गले र अहित चाहने अर्को ढङ्गले चल्छन्। कतिपय कुरा नमिलेका होलान्, मिलाउनुपर्छ।’











