Kathmandu Press

विमानास्थल भन्सारका पाँच कर्मचारीलाई भ्रष्टाचारमा छानविन गर्न सिफारिस

विमानास्थल भन्सारका पाँच कर्मचारीलाई भ्रष्टाचारमा छानविन गर्न सिफारिस

काठमाडौं, असोज ४ : करिब ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका पाँचजना भन्सार कर्मचारीलाई भ्रष्टाचारको कसुरमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गरिएको छ। 

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले नाम तोकेर अख्तियारलाई सिफारिस गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत जोखिम व्यवस्थापन शाखाका अधिकृत सन्तोष चन्द, भन्सार कार्यालयका भन्सार जाँच पास अधिकृत गणेशप्रसाद पौडेल, नायब सुब्बा विरेन्द्र नेपाली, कुमार ढकाल र एक्स–रे जाँचकी सरोज श्रेष्ठलाई भ्रष्टाचारमा छानबिनका लागि अनुसन्धान गर्न भनिएको छ। 

हङकङबाट गैरकानूनी रुपमा सुन भित्र्याउन संगठित भूमिका खेलेको अभियोग लागेका उनीहरुले गैरकानूनी सम्पत्ति समेत आर्जन गरेको आशंका गरिएको छ। कसुरबाट आर्जित गैरकानूनी सम्पत्ति विभिन्न व्यवसायमा लगानी गर्ने, लुकाउने तथा सम्पत्ति बढाएको हुनसक्ने जिल्ला सरकारी वकीलको सिफारिसमा जनाइएको छ। उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन अनुसार अनुसन्धान र कारबाही अघि बढाउन सिफारिस गरिएको छ। 

राजश्व अनुसन्धान विभागले गत २ साउनमा विमानस्थल भन्सारको जाँच पास भएर बाहिरिएको ६१ किलो सुन बरामद प्रकरणमा यी कर्मचारी समेत संलग्न भएका आरोप लागेको छ। सरकारी वकिल कार्यालयले सुन तश्करी प्रकरणमा संलगन दावा छिरिङसहित १६ जनामाथि शम्पत्ति शुद्धीकरणमा छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा सिफारिस गरेको छ। 

सरकारी वकीलले दावाकी श्रीमती अमला रोका, जीवन चलाउने, किशोर बस्नेत, हर्कराज राई, कृष्णकुमार श्रेष्ठ, पुस्करराज श्रेष्ठ, राजेन्द्रकुमार राई, सुदर्शन गौतम, रुकमिना सुब्बा, रामकुमार भुजेल, यादव पराजुली, दिलिप भुजेल, सुमन खरेल, शिवकुमार सरार्फ र भोला शाह सुनारलाई सम्पत्ति शुद्धिकरणमा छानविनको सिफारिस गरिएको हो। 
 

प्रकाशित मिति: १५:४६ बजे, बिहीबार, असोज ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्