राष्ट्रकवि माधव घिमिरे पुरस्कार वरिष्ठ समालोचक प्रा.डा. त्रिपाठीलाई
नेपाली भाषा, कला, साहित्य, संस्कृति र ज्ञानविज्ञानको उन्नयनका लागि विसं २०५३ मा स्थापना भएको मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले पहिलो पटक माधव घिमिरे पुरस्कार वरिष्ठ समालोचक प्रा डा त्रिपाठीलाई प्रदान गर्न लागेको हो। उक्त पुरस्कारको राशि रु. एक लाख र ताम्रपत्र रहेको छ।
काठमाडौं, असोज ४ : राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा स्थापित ‘माधव घिमिरे पुरस्कार’ वरिष्ठ समालोचक प्रा.डा. वासुदेव त्रिपाठीलाई प्रदान गरिने भएको छ।
नेपाली भाषा, कला, साहित्य, संस्कृति र ज्ञानविज्ञानको उन्नयनका लागि विसं २०५३ मा स्थापना भएको मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले पहिलो पटक माधव घिमिरे पुरस्कार वरिष्ठ समालोचक प्रा डा त्रिपाठीलाई प्रदान गर्न लागेको हो। उक्त पुरस्कारको राशि रु. एक लाख र ताम्रपत्र रहेको छ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेकी धर्मपत्नी महाकाली घिमिरे, सुपुत्रद्वय इन्दिवर घिमिरे र राजिव घिमिरेद्वारा मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानको कोषमा रहने गरी रु १६ लाखको अक्षयकोष स्थापना गरिएसँगै उक्त अक्षयकोषबाट आउने ब्याजमार्फत हरेक वर्ष पुरस्कार प्रदान गरिने निर्णयअनुसार पहिलो पटक प्रा डा त्रिपाठीलाई पुरस्कार प्रदान गर्न लागिएको हो।
तनहुँको भानु नगरपालिका निवासी त्रिपाठीले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा पहिलो पटक विद्यावारिधि उपाधि प्राप्त गरेका हुन्। २०३४ सालमा मदन पुरस्कार प्राप्त गरेका उनले लेखनाथ पुरस्कारसमेत पाइसक्नुभएको छ। त्रिपाठीले निम्नमाध्यामिक नेपाली व्याकरण र रचनासमेत लेखेका छन्।
धवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर यही असोज ७ गते प्रदान गर्न लागिएको प्रतिष्ठानका उपाध्यक्ष भाग्यशाली अधिकारीले जानकारी दिनुभयो। अक्षयकोष स्थापना गरेसँगै पुरस्कार छनोटका लागि प्रतिष्ठानले तीन सदस्यीय समिति बनाएको थियो।
प्रतिष्ठानका अध्यक्ष एवं वरिष्ठ साहित्यकार विजयराज न्यौपानेको संयोजकत्वमा गठित समितिको सदस्यमा विज्ञका तर्फबाट प्रा डा जयराज आचार्य र दाताका तर्फबाट डा हेमाङ्गराज अधिकारी सदस्य छन्।
उक्त समितिको सिफारिसमा प्रदान गर्न लागिएको उक्त पुरस्कार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले प्रदान गर्ने प्रतिष्ठानका सदस्य लक्ष्मण थापाले जानकारी दिए।












