अपानीमा देखिएको समस्या पार्टीभित्रैबाट हल गरिनेछ : अध्यक्ष नेपाल

काठमाडाैं, असाेज ४ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अन्तरपार्टी निर्देशन (अपानी) मा देखिएको समस्या पार्टी भित्रैबाट हल गरिने बताएका छन्।
बिहीबार पार्टी कार्यालय आलोकनगरमा आयोजित शपथ ग्रहण कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले अपानीमा मतभेद नभइ केहि प्रश्नहरु आएको भन्दै पार्टी भित्रैबाट हल गरिने बताएका हुन्।
अपानीमा पार्टीका सम्मानित नेता झलनाथ खनालले गरेको टिप्पणीका बारे सोधिएको प्रश्नमा अध्यक्ष नेपालले पार्टीभित्रको बिषय सडकमा लाने काम पार्टीको जिम्मेवार मान्छे र अनुशासन बुझेको मान्छेले नगर्ने जिकिर गरे। खनालले अध्यक्ष नेपालले एकलौटी गरेको भन्दै नेताहरूको कार्यविभाजन सच्याउन माग गर्दै आएका छन्।
त्यस्तै उनले सरकारले राम्रो काम गरिरहेको भन्दै अझै राम्रो काम गरेर जनताको विश्वास जित्नुपर्ने धारणा राखे। अध्यक्ष नेपालले अहिले शिक्षकहरुको आन्दोलनप्रति सरकार गम्भीर हुनुपर्ने र वार्ता तथा छलफलबाट निकास निकाल्नुपर्ने उल्लेख गरे।
अध्यक्ष नेपालले केन्द्रीय कमिटीको छैटौ बैठकले केन्द्रीय कमिटीका सदस्यहरु मनोनित गरिएकाहरु मध्ये १३ जनालाई विधान अनुसार सपथ गराइएको जानकारी दिए। शपथ ग्रहणका क्रममा उहाले युवाहरुको जोश र पुरानाका अनुभवलाई समेटिएर पार्टीलाई मजबुद ढंगले अघि बढाइने जिकिर गरे।











