शान्तिपूर्ण र व्यवस्थित रुपमा आन्दोलन गर्न शिक्षकहरुलाई आग्रह
बिहीबार सिंहदरबारमा आन्दोलनरत शिक्षकहरूसँग भएको छलफलका क्रममा श्रेष्ठले आन्दोलनकारी शिक्षकहरुको माग पूरा गर्न सरकार सकारात्मक रहेको भन्दै आन्दोलन गर्नैपर्दा शान्तिपूर्ण र व्यवस्थित रुपमा गर्न आग्रह गरेका हुन्।
काठमाडाैं, असाेज ४ : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शान्तिपूर्ण र व्यवस्थित रुपमा आन्दोलनका कार्यक्रम गर्न आन्दोलनकारी शिक्षकहरुलाई आग्रह गरेका छन्।
बिहीबार सिंहदरबारमा आन्दोलनरत शिक्षकहरूसँग भएको छलफलका क्रममा श्रेष्ठले आन्दोलनकारी शिक्षकहरुको माग पूरा गर्न सरकार सकारात्मक रहेको भन्दै आन्दोलन गर्नैपर्दा शान्तिपूर्ण र व्यवस्थित रुपमा गर्न आग्रह गरेका हुन्।
शिक्षकहरुको आन्दोलनका कारण बुधबार राजधानीको सवारी आवागमनको अवस्था अस्तव्यस्त भएपछि गृहमन्त्री श्रेष्ठले आन्दोलनकारी शिक्षकहरुलाई सिंहदरबार बोलाएका थिए।
सो क्रममा शान्ति सुरक्षाका विषयमा मात्रै केन्द्रित भएको शिक्षक संगठनका अध्यक्ष विष्णु प्रसाद भण्डारीले जानकारी दिए। उनले आफ्ना मागका बारेमा संसदबाट नै समाधान निकाल्नुपर्ने बताए।
छलफलका क्रममा उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले शिक्षकहरूलाई आन्दोलन फिर्ता लिएर विद्यालय सुचारु गर्न पनि आग्रह गरेका थिए। शिक्षक महसंघले भने विद्यालय शिक्षा विधेयक फिर्ता नभएसम्म आन्दोलन फिर्ता नहुने स्पष्ट पारेको छ।