‘वर्तमान संविधान कांग्रेसको नीतिबाट प्रभावित छ’
सिटौलाले संविधान कार्यान्वयनका लागि संघीय संसद र प्रदेश सभाका सांसदहरुको क्रियाशिलताको खाँचौ औंल्याउँदै संविधान जारी भएपछिका ८ वर्षको मुल्याङ्कन गर्दा राज्य संचालकहरुको प्राथमिकता संविधान कार्यान्वयन गर्ने तर्फ नहुँदा समस्या आएको बताए।काठमाडौं, असोज ३ : नेपाली कांग्रेसका नेता तथा वर्तमान संविधानको मस्यौदा समितिका संयोजक कृष्णप्रसाद सिटौलाले संविधान कांग्रेसको नीतिबाट प्रभावित भएको बताएका छन्।
कांग्रेस पार्टी कार्यालय सानेपामा जारी विपी साहित्य महोत्सवको अन्तिम दिन बुधबार आयोजित ‘बिपीको विचार, आजको संविधान र अवको बाटो’ विषयक अन्तरसंवाद कार्यक्रममा उनले वर्तमान संविधान माओवादी पार्टीबाट प्रभावित भएर निर्माण भएको नभई कांग्रेसबाटै प्रभावित भएर बनेको बताए।
नेता सिटौलाले संविधानमा नेपाली किसान, मजदुर र आमसमुदायको भावनाको प्रतिनिधित्व बमोजिम अधिकारको प्रत्याभूति गरेको बताए। ‘संविधान बनेपछि यसको कार्यान्वयनमा हामीले जोड दिन सकेनौं, संविधान जारी भएपछि कार्यान्वयन गर्ने बेलामा २०७२ सालपछि कम्युनिष्टहरुको सरकार बन्यो, केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले संविधान कार्यान्वयन गर्नभन्दा राज्य सत्ता कब्जा गर्ने नियत राखेको देखियो।’
सिटौलाले संविधान कार्यान्वयनका लागि संघीय संसद र प्रदेश सभाका सांसदहरुको क्रियाशिलताको खाँचौ औंल्याउँदै संविधान जारी भएपछिका ८ वर्षको मुल्याङ्कन गर्दा राज्य संचालकहरुको प्राथमिकता संविधान कार्यान्वयन गर्ने तर्फ नहुँदा समस्या आएको बताए।
उनले राज्य संचालन गर्नेहरुले संविधानलाई यथास्थितिमा राखेर सत्तामा ध्यान केन्द्रीत गरेको आरोप लगाए। ‘नेपाली कांग्रेससँग अहिले पनि सदन र सडकमा संविधान कार्यान्वयन गर्न सक्ने ताकत छ। यसलाई दृढताका साथ कार्यान्वयन गर्न कांग्रेसका सांसदहरु लाग्नुस्, संविधान बनेपछि कानून बनाउन ढिलाइ गर्नु भनेको न्याय दिन ढिलाई गर्नु न्याय नदिनु जस्तै हो’, उनले भने, ‘संविधानमा आधारभूत विशेषताहरु बहुदलिय प्रजातन्त्रकै छ।’
प्रतिनिधि भाका पूर्वसभामुख दमन नाथ ढुंगानाले वर्तमान संविधानमा मौलिक हक नै ३१ वटा राखिएको भन्दै यति धेरै मौलिक हक राखेर कार्यान्वयन गर्न नसक्नु वर्तमान सत्तारुढ दलहरुकै कमजोरी भएको बताए।
संविधान सभा सदस्य तथा पूर्वमन्त्री निलाम्बर आचार्यले संविधान जारी भएको तीन वर्ष भित्रमा बन्नु पर्ने कानूनहरु निर्माण नहुनु दुखद भएको बताए।
‘बिपीले भने जस्तै प्रजातन्त्र बलियो बनाउन आर्थिक समुन्नति चाहिन्छ। तर अहिले युवा पलायन वर्तमान राजनीतिक नेतृत्वप्रतिको आक्रोसको संकेत हो । जनताको मागलाई संवोधन गर्न विमुख भएर दलहरु सत्ता केन्द्रीत हुँदा समस्या आएको छ,’ उनले भने।











