Kathmandu Press

बिपीले व्यावहारिक शिक्षामा जोड दिनुभएको थियो : डा. माथेमा

शिक्षाविद् डा. माथेमाले नेपाली साहित्यका एक नक्षत्र बिपीको क्षमता कला, संस्कृति, राजनीति, साहित्य र समाजको क्षेत्रमा अतुलनिय योगदान भएको जनाउँदै पूर्वअमेरिकी राष्ट्रपति टमक जेफर्सनसँग बिपीको तुलना गरे।
बिपीले व्यावहारिक शिक्षामा जोड दिनुभएको थियो : डा. माथेमा

काठमाडौं, असोज ३ : त्रिभुवन विश्वविद्यालयका पूर्वउपकूलपति डा. केदारभक्त माथेमाले नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले परिकल्पना गरेको शिक्षा समानता, सामाजिक न्याय, सार्वजनिक, सहज, समान अवसर र व्यावहारिकतामा आधारित रहेको बताए।

‘शिक्षालाई विद्यार्थीले एउटा शैक्षिक तह उत्तीर्ण गर्ने माध्यम, अभिभावकले रोजगार प्राप्त गर्ने साधन, समाजले बौद्धिक र समाजअनूकुलको माध्यमको रुपमा लिने गर्छन । तर एउटा राजनेताले शिक्षालाई समाज बदल्ने साधनको रुपमा लिन्छ । बिपी त्यही राजनेता हुनुहुन्थ्यो,’ कांग्रेस संस्थापक बिपीको ११०औं स्मृति दिवसको अवसरमा आयोजित बिपी साहित्य सम्मेलनमा उनले भने।

डा. माथेमाले ‘बिपीको समाजवादी परिकल्पनामा शिक्षा’ विषयमा सम्भाषण प्रस्तुत गरेका थिए। शिक्षाविद् डा. माथेमाले नेपाली साहित्यका एक नक्षत्र बिपीको क्षमता कला, संस्कृति, राजनीति, साहित्य र समाजको क्षेत्रमा अतुलनिय योगदान भएको जनाउँदै पूर्वअमेरिकी राष्ट्रपति टमक जेफर्सनसँग बिपीको तुलना गरे।

उनले शिक्षा समान कहिल्यै हुँदैन र यसमा राजनीति हुने भन्दै राजनीतिकको हस्तक्षेप र व्यापारिकरणबाट शिक्षालाई अलग गर्नसक्नुपर्नेमा जोड दिए। नेपालसहित दक्षिण एसियाली मुलुकमा शिक्षामा अधिक व्यापारीकरण हुने गरेको भन्दै डा माथेमाले नेपालका सन्तानलाई शिक्षाका लागि अभिभावकले जीवनभर कमाएको आम्दानीको ५० प्रतिशतसम्म खर्च गर्ने गरेको उल्लेख गरे।

‘यदि बीपीको समाजवादी परिकल्पनाको शिक्षा हुन्थ्यो भने त्यहाँ विश्वविद्यालयमा राजनीति हुँदैनथ्यो, राजनीतिक हस्तक्षेप हुँदैनथ्यो। यहाँमात्रै होइन, तपाईं संसारभर हेर्नुहोस्, जहाँ विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप छ, त्यहाँ विश्वविद्यालयहरू फस्टाउनै सकेका छैनन्,’ माथेमाले भने।

उनले नेपालमा धेरै वटा विश्वविद्यालय भए पनि त्रिभुवन विश्वविद्यालयमै विद्यार्थीहरूको भीड लाग्ने र एकै खालको पाठ्यक्रम पढाउने काम गलत भइरहेको बताए।

‘नेपालमै यति धेरै विश्वविद्यालयहरू छन् तर विद्यार्थीको कुरा गर्ने हो भने ७५ प्रतिशत विद्यार्थी त्रिभुवन विश्वविद्यालयमै जान्छन्। एकै ठाउँमा थुप्रिएका छन्। उनीहरूलाई एकै खालको पाठ्यक्रम रटाइएको छ। एकै विधिमा एकै खालको शिक्षा त्यति धेरै मान्छेले किन लिने ? यो एकदमै नमिलेको देखिन्छ,’ उनले अघि भने, ‘एउटै पाठ्यक्रम ७० प्रतिशत विद्यार्थीलाई सिकाएर हामीले कस्तो जनशक्ति उत्पादन गर्ने? त्यो जनशक्तिबाट लाभ कसरी लिने?’

बीपीको अहिले नेतृत्व भएकाे भए विद्यार्थीहरूलाई चुनौतीहरूसँग जुध्न सिकाउने खालको शिक्षा पद्धतिको विकास हुने माथेमाले बताए।

प्रकाशित मिति: १६:५४ बजे, बुधबार, असोज ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्