Kathmandu Press

युवा शक्तिलाई देशमै रोक्न आवश्यक छ : अध्यक्ष नेपाल

संविधानमा उल्लेख गरिएका हिसाबले सरकारले प्रतिबद्धता गरेको कुराहरू व्यवहारमा लागू गरेर अघि बढ्न सरकारलाई आग्रह गरे।
युवा शक्तिलाई देशमै रोक्न आवश्यक छ : अध्यक्ष नेपाल

काठमाडौं, असोज ३ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले युवा शक्तिलाई देशमै रोक्न आवश्यक भएको बताएका छन्।

नेपाल रिटर्नी एशोशिएसनको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले देशको श्रम शक्तिलाई विदेशिनबाट रोक्न आवश्यक भएको बताए।

‘हामीले श्रम शक्तिलाई देशमै रोक्न सकेको छैनौं। लेख्नको लागि लेखेको छौं– पढाउँदै, पढ्दै काम गर्दै । तर, काम र व्यवहारमा त्यो हुन सकेको छैन,’ उनले भने, ‘नीतिहरुलाई व्यवहारमा लागू गर्न संकल्प चाहिन्छ, प्रस्ट योजना चाहिन्छ।’

उनले सरकारले गरेको राम्रो काममा समाजवादी मोर्चा र पार्टीले पुरै साथ दिने बताए। संविधानमा उल्लेख गरिएका हिसाबले सरकारले प्रतिबद्धता गरेको कुराहरू व्यवहारमा लागू गरेर अघि बढ्न सरकारलाई आग्रह गरे।

नेपाली विशेषताको समाजवाद स्थापनाका लागि योजनाबद्ध रुपमा अघि बढ्ने, मौलिक हक जनतामा प्रदान गर्ने कुरामा निकै समस्या देखिएको उनले बताए। अध्यक्ष नेपालले बजेटमा पनि रोजगारी सम्बन्धी कार्यक्रम राखे पनि वास्तविक रुपमा कार्यान्वयन हुन नसकेको उल्लेख गरे।

अध्यक्ष नेपालले नेपाल रिटर्नी एशोसियशनले विदेशमा रहेका र विदेशबाट फर्किएका विवरण राखेर युवा लक्षित कार्यक्रम गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १६:४१ बजे, बुधबार, असोज ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्