सूर्यविनायक–रत्नपार्क द्रुत बस सुरु
द्रुत बस सेवा सूर्यविनायक–रत्नपार्क रुटमा चल्ने छ। आज उद्घाटन भए पनि भोलिदेखि मात्र सर्वसाधारण यात्रुको सेवामा द्रुत सेवाका बस चल्ने छन् ।
काठमाडौं, असोज ३ : सरकारले काठमाडौं उपत्यकामा पहिलो पटक द्रुत बस सेवा सुरु गरेको छ। द्रुत बस सेवाको संविधान दिवसको अवसरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला उद्घाटन गरे।
द्रुत बस सेवा सूर्यविनायक–रत्नपार्क रुटमा चल्ने छ। आज उद्घाटन भए पनि भोलिदेखि मात्र सर्वसाधारण यात्रुको सेवामा द्रुत सेवाका बस चल्ने छन् ।
बुधबार दु्रत सार्वजनिक बस सेवाको उद्घाटन गर्दै उनले हाल सूर्यविनायकदेखि रत्नपार्क पुग्न ४५ मिनेट लाग्ने उल्लेख गर्दै त्यसलाई थप सुधार र व्यवस्थित गरी आधा घण्टामै सूर्यविनायकदेखि रत्नपार्क पुग्ने व्यवस्था गर्ने बताए।
‘सूर्यविनायकदेखि रत्नपार्कसम्म आउने र जाने समय अहिले करिब दुई घण्टा लाग्छ । पहिलो पटक यसलाई हामी ४५ मिनेटमा झार्छौं,’ उनले भने, ‘अझै व्यवस्थित र सुधारहरू गर्दै जाँदा आधा घण्टामा रत्नपार्कसम्ममा समय निर्धारण हुनेगरी हामी यसलाई व्यवस्थित गर्दै छौं।’
मन्त्री ज्वालाले सूर्यविनायकबाट अगाडि बनेपा–धुलिखेलसम्म नै दु्रत बस सेवा विस्तार गर्ने प्रतिबद्धता गरेका छन्।
यो सेवा सुरूमा २५ वटा बसबाट सुरू गरिनेछ। यो बस गुड्नका लागि अहिले सरकारले सडकका दुबै भागमा छुट्टै लेन बनाइसकेको छ । छुट्टै लेन (रातो रङले छुट्टयाइएको) छ । सोही लेनबाट सेवा सञ्चालन हुनेछ।
यातायात व्यवस्था विभागले द्रुत सेवाअन्तर्गतका बसहरू बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म गरी दुई सिफ्टमा चल्ने जानकारी गराएको छ । त्यो समयमा यी बस गुड्ने डेडिकेटेड लेनमा अन्य सवारी साधन चलाउन निषेध गरिएको छ । यद्यपि अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन, दमकल, कर्मचारी बोक्ने बसहरू भने उक्त लेनमा चलाउन पाइने बताइएको छ ।
मन्त्री ज्वालाले यातायात क्षेत्रमा सुशासन कायम गर्न अनलाइन प्रणालीबाट सेवा सुरुवातको थालनी गण्डकी प्रदेशबाट गरेको उल्लेख गर्दै त्यसलाई यही असोज १५ गतेभित्र बागमतीमा विस्तार गर्नेसमेत बताए।
‘अब दोस्रो पटक केही दिन १५ गते भित्र नै यो बागमती प्रदेशमा पनि अनलाइन सेवा सुरु गर्दैछौं । र यो महिनाभरी कमसेकम देशभरी अनलाइन सिस्टम सुरु गर्ने अनलाइन पेमेन्ट प्रारम्भ गर्ने गरी अगाडि बढाउने गरी हामी काम गरिरहेका छौं,’ मन्त्री ज्वालाले भने।











