रिजालको निधनले कांग्रेस र राष्ट्रलाई अपूरणीय क्षति : सभापति देउवा
स्व. रिजालको १३औँ दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जलि सभामा सभापति देउवाले स्व. रिजालले वडाध्यक्षका रुपमा भए पनि राम्रो काम गर्नुभएको र ती कामको सधैँ स्मरण रहिरहने उल्लेख गरे।
काठमाडौं, असोज २ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस काठमाडौं क्षेत्र नं. ७ का सभापति एवं काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनले पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको बताएका छन्।
स्व. रिजालको १३औँ दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जलि सभामा सभापति देउवाले स्व. रिजालले वडाध्यक्षका रुपमा भए पनि राम्रो काम गर्नुभएको र ती कामको सधैँ स्मरण रहिरहने उल्लेख गरे।
सभापति देउवाले विद्यार्थी आन्दोलनबाट राजनीतिमा स्थापित जुझारु नेताका रुपमा परिचित स्व रिजालको वडाध्यक्षका रुपमा काम गर्दागर्दै असामयिक निधन भएको बताए। उनले रिजालले गर्न बाँकी रहेका काम कांग्रेस र सबै मिलेर पूरा गर्नुपर्ने उल्लेख गरे।
रिजालका परिवारजनलाई पार्टीका तर्फबाट आवश्यक साथ र सहयोग रहने बताउँदै सभापति देउवाले परिवारजनमा समवेदना प्रकट गरे।
सभामा सहभागी कांग्रेसका नेताहरूले स्व रिजाललाई स्मरण गर्दै उनका अपूरा काम सम्पन्न गर्नसके मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने धारणा व्यक्त गरेका थिए।