ओनसरीको सम्झनामा सुवासः ‘कहिल्यै पदीय दायित्व र मर्यादा भुल्नुभएन’

काठमाडौं, असाेज २ : पूर्वसभामुख एवं नेकपा माओवादीकी नेतृ ओनसरी घर्तीले नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा सदस्य सुवासचन्द्र नेम्वाङलाई आफ्नो पदीय दायित्व र मर्यादालाई कहिल्यै नबिर्सने व्यक्तिका रुपमा सम्झिएकी छन्।
मंगलबार संविधान दिवसको पूर्व सन्ध्यामा नेकपा एमालेद्वारा च्यासलमा आयोजित ‘सुवास र संविधान प्रवचन कार्यक्रम’मा घर्तीले नेम्वाङसँग आफूले सँगै संविधान निर्माणको समयमा सहकार्य गरेको सुनाउँदै उनको स्मरण गरेकी हुन्।
‘उहाँले आफू पदीय मर्यादामा रहँदा आफ्नो मर्यादा कहिल्यै भुल्नुभएन। संविधान सभाका ती दिनहरुका अप्ठ्यारा, हामी सबै जानकार छौं, तर उहाँले जहिल्यै पनि आफ्नो दायित्व र मर्यादालाई भुल्नुभएन। सधैं सहकार्य, सहमति, राष्ट्रिय एकताको कुरालाई उठाउनुभयो र संविधान जारी गराउनुभयो’ उनले भनिन्, ‘म सम्मानपूर्वक भन्न चाहन्छु, उहाँ संविधान सभाको आफ्नो कार्यकाल निर्वाह गर्नमा सफल अध्यक्ष हुनुहुन्छ।’
इतिहासले नै नेम्वाङलाई संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने जिम्मेवारी सुम्पेको र त्यसलाई उनले पूरा गरेको घर्तीले बताइन्। घर्तीले भनिन्, ‘आज हामीले संसदको लागि एक अभिभावक गुमाएका छौं। संसद चलाउनको लागि आजको संकटहरुलाई सजिलै सहजीकरण गर्नको लागि संसदले त अभिभावक नै गुमाएको भन्छु म। एक समन्वयकारी, सरल, सबैले मन पराउने असल नेता देशले गुमाएको छ।’
संविधान सभाका अध्यक्ष नेम्वाङको गत मंगलबार बिहान हृदयघातका कारण निधन भएको थियो।