Kathmandu Press

नेम्वाङ निष्ठाको राजनीति गर्ने देशभक्त नेता हुनुहुन्थ्याे : ओली 

नेम्वाङ निष्ठाको राजनीति गर्ने देशभक्त नेता हुनुहुन्थ्याे : ओली 

काठमाडौं, असाेज २ : एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङ देश र जनताप्रति असाधारण निष्ठा बोकेको देशभक्त र मनैदेखि सम्मान भावना उर्लिएर आउने एक नेता भएको बताएका छन्। 

मंगलबार संविधान दिवसको पूर्वसन्ध्यामा नेकपा एमालेद्वारा च्यासलमा आयोजित ‘सुवास र संविधान प्रवचन कार्यक्रम’ मा ओलीले सुवासलाई आत्मकेन्द्रीत नभएर देश र जनता र उनीहरुको भलाइलाई केन्द्रमा राखेर निष्ठाको राजनीति गर्ने देशभक्त नेताको रुपमा स्मरण गरे। 

Hardik ivf

ओलीले नेम्वाङको पाँच दशकभन्दा बढी सक्रिय राजनीतिबारे चर्चा गर्दै भने, ‘उहाँको निष्ठा र देशकेन्द्रीत, जनकेन्द्रीत र न्यायकेन्द्रीत राजनीतिबाट हामीले बढी सिक्नुपर्छ। उहाँ मिठो बोल्नुहुन्थ्यो त्यो राम्रो कुरा हो। मिठो बोल्ने मान्छे पनि बेइमान भैदियो भने? तर, उहाँ बेइमान हुनुहुन्नथ्यो। मिठो बोल्ने भन्दा ठूलो कुराचाहिँ उहाँको देशप्रति असाधारण निष्ठा थियो। देशभक्त हुनुहुन्थ्यो उहाँ। कहिल्यै पनि असान्दर्भिक र स्वार्थी कदमहरु चाल्दै चाल्नभएन। त्यस्ता कदमबाट जहिल्यै अलग रहनुभयो। देशको हितमा उहाँ अडिग रहनुभयो।’ 

ओलीले स्वर्गीय सुवासप्रति आफ्नो मनैबाट सम्मान र आदरभाव उर्लिएर आउने एक नेताको रुपमा स्मरण गरे। ‘औपचारिक रुपमा मान्छेको सामान्यतया प्रशंसा गर्ने चलन हुन्छ। तर, सुवासचन्द्र नेम्वाङजी यस्तो व्यक्तित्व हो, जसलाई मनैदेखि प्रशंसा र आदरभाव पलाएर आउँछ, उर्लिएर आउँछ। उहाँप्रति सम्मान गरुँ भन्ने भाव उर्लिएर आउँछ। आधारभूत गुणहरुमा कहीँ खोट नभएको व्यक्ति हुनुहुन्थ्यो सुवास,’ ओलीले भने।
 

प्रकाशित मिति: १६:३७ बजे, मंगलबार, असोज २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्