Kathmandu Press

संविधान प्रतिकूल नहुने माग विद्यालय शिक्षासम्बन्धी विधेयकमा राख्न सकिन्छ : कार्यवाहक प्रधानमन्त्री

संविधान प्रतिकूल नहुने माग विद्यालय शिक्षासम्बन्धी विधेयकमा राख्न सकिन्छ : कार्यवाहक प्रधानमन्त्री

काठमाडौँ, असोज २ : कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा संविधान विपरीत नहुने र विद्यमान अर्थतन्त्रले धान्न सक्ने माग समावेश गर्न सकिने बताएका छन्। 

राष्ट्रिय शिक्षा दिवस, २०८० का अवसरमा आयोजित मूल समारोह समितिको कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री खड्काले विधेयकमाथि प्राप्त सुझाव र आवाजलाई ध्यान दिएर आफू नेतृत्वको कार्यदलले परिमार्जनसहित जायज माग सम्बोधन गरेरै विधेयक दर्ता गराएको समेत स्पष्ट पारे। उनले दर्ता भएको विधेकयमा केही कमी भए वार्ता र छलफलबाट सम्बोधन गर्न सकिने पनि बताए। 

उनले नेपाल शिक्षक महासङ्घलाई आन्दोलनका कार्यक्रम फिर्ता लिएर वार्तामा आउन समेत आह्वान गरे। उनले महासङ्घलाई संविधान विपरीत नहुने र विद्यमान अर्थतन्त्रले धन्न सक्ने विषय विधेयकमा मिलाउनका लागि सरकार तत्पर रहेको बताए। 

उनले विधेयकमाथि महासङ्घका के कस्ता असन्तुष्टि छन् भन्ने सरकारलाई थाहा नभइए आकस्मिकरुपमा विद्यालय बन्दलगायतका विरोधका कार्यक्रम घोषणा गरेको बताए। महासङ्घले यही असोज ३ गतेदेखि विद्यालय बन्दलगायत विरोधका कार्यक्रम घोषणा गरिसकेको छ। 

कार्यवाहक प्रधानमन्त्री खड्काले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्याका विषयमा पनि आवश्यक सहजीकरण गर्न प्रधानमन्त्रीको निर्देशनमा काम भइरहेको अवगत गराए। उनले सरकार संविधानमा मौलिक हकका रुपमा रहेको अनिवार्य र निःशुल्क शिक्षाको कार्यान्वयन गराउन प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। यसको कार्यान्वयनका लागि तीन वटै तहका सरकारबीच उचित समन्वय र सहकार्य जरुरी रहेको उनको भनाइ छ।

उनले पाठ्यक्रममा सुधार र पठनपाठनमा विविधीकरण गरी शिक्षाको पहुँच र गुणस्तर बढाउनुपर्ने उल्लेख गर्दै सरकारले मानव स्रोत विकास योजना बनाइ प्रतिस्पर्धी जनशक्ति तयार गरी रोजगार बजार अनुकूल हुने नीति तर्जुमा गर्ने जानकारी गराए।

प्रकाशित मिति: १६:०८ बजे, मंगलबार, असोज २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्