Kathmandu Press

गणेशमान सिंहको २६औँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाइयाे

गणेशमान सिंहको २६औँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाइयाे
काठमाडौं–१५ स्थित शोभा भगवतीमा स्व. नेता गणेशमान सिहंको २६औँ पुण्यतिथिका अवसरमा आयोजित कार्यक्रममा गणेशमानको शालिकमा माल्यार्पण गर्दै कांग्रेस नेता प्रकाशमान सिंह। तस्बिर : रासस

काठमाडाैं, असाेज २ : प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको २६औँ स्मृति दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ।

जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनका सर्वोच्च कमान्डर भई सबैको प्रिय बन्नुभएको थियो। नेता सिंहको २६औँ स्मृति दिवसका अवसरमा कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गरेका थिए।

यसै क्रममा गणेशमान सिंह फाउण्डेशनले काठमाडौंमा गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेको थियो। माल्यार्पण कार्यक्रममा कांग्रेसका नेता प्रकाशमान सिंहले जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहले देखाएको सुशासनको बाटोमा हिँडे जनता सुखी र देश समृद्ध हुने बताए।

हालसम्म प्राप्त राजनीतिक उपलब्धि उल्टाउने षडयन्त्र भइरहेको भन्दै उहाले कठोर संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि रक्षाका लागि सबै राजनीतिक दलहरुबीच सहकार्य आवश्यक रहेको जिकिर गरे। संघीयता र गणतन्त्र सहितको अहिलेको संविधान असफल बनाउने चलखेल भएपछि कांग्रेस र माओवादी केन्द्र लगायत दलहरुको गठबन्धन बनाउनुपरेको उनको भनाइ छ।

गणेशमान सिंहले प्रजातन्त्र प्राप्तिका लागि गरेको संघर्ष, त्याग, बलिदान, आदर्श समाज निर्माणका लागि लोकतान्त्रिक प्रणालीलाई मूल्य मान्यता, विधि र नियमअनुसार चलाउन गरेको संघर्ष अनुकरणीय भएको उनले बताए।

नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल हुनुभएको थियो। २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गर्नुभएको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गर्नुभएको थियो। विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मनुभएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो। 

प्रकाशित मिति: १५:०८ बजे, मंगलबार, असोज २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्