राष्ट्रिय राजनीतिमा सुवासको अभाव खड्किएको छ : महासचिव पोखरेल
'जतिबेला कानूनी र संवैधानिक प्रश्नहरू अगाडि आउँछन् सबैले सुवास नेम्वाङ के भन्नुहुन्छ भन्ने कुराको खोजी गर्ने एक जना व्यक्तिका रूपमा आफूलाई स्थापित गर्न उहाँ सफल हुनुभएकाे थियो।’
काठमाडौं, असाेज २ : एमाले महासचिव शंकर पोखरेलले संविधानको प्रभावकारी कार्यान्वयन गर्ने समयमा भएको संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले राष्ट्रिय राजनीतिमा उनको अभाव खड्किएको बताएका छन्।
मंगलबार संविधान दिवसको पूर्वसन्ध्यामा एमालेद्वारा च्यासलमा आयोजित ‘सुवास र संविधान प्रवचन कार्यक्रम’मा पोखरेलले उनलाई संविधान र कानूनको विषयमा सबै राजनीतिक दलका लागि नेम्वाङ सल्लाहाकारका रूपमा रहेको भन्दै स्मरण गरे।
पोखरेलले भने, ‘नेपालको संविधान र कानूनको मामिलामा उहाँ सबै राजनीतिक दलका लागि सल्लाहकारका रूपमा सदैव रहनुभयो। जतिबेला कानूनी र संवैधानिक प्रश्नहरू अगाडि आउँछन् सबैले सुवास नेम्वाङ के भन्नुहुन्छ भन्ने कुराको खोजी गर्ने एक जना व्यक्तिका रूपमा आफूलाई स्थापित गर्न उहाँ सफल हुनुभएकाे थियो।’
उनले संविधानको प्रभावकारी कार्यान्वयन गर्ने समयमा भएको नेम्वाङको निधनले उनको अभाव राष्ट्रिय राजनीतिमा खड्किएको पोखरेलको भनाइ छ।
‘नेपाल राष्ट्रिय राजनीतिको जुन प्रकारको सङ्क्रमणबाट गुज्रिरहेको छ, यस्तो अवस्थामा सुवासचन्द्र नेम्वाङको अभाव हामी सबैलाई खड्किरहेको छ। आज संविधानलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने बेलामा हामी उहाँलाई सम्झिरहेका छौं,’ पोखरेलले भने।











