Kathmandu Press

बोल्न नसक्ने युवकले कापीमा लेखे– चारैजनालाई मैले नै मारेको हुँ

ती युवकको पहिचान पनि खुलाइएको छैन। हत्या किन गरियाे भन्नेबारे यकिन हुन बाँकी रहेकाे जनाइएकाे छ। तर ती युवकले नै चार जनाकै हत्या आफूले गरेको बयान दिएको प्रहरी स्रोतको भनाइ छ।
बोल्न नसक्ने युवकले कापीमा लेखे– चारैजनालाई मैले नै मारेको हुँ

काठमाडौं, भदौ ३१ : काठमाडौंको तीनकुनेकाे गैरीगाउँस्थित दिव्य सःमिलमा शुक्रबार राति भएको सामूहिक हत्यामा एक जना मात्र युवकको संलग्नता पाइएकाे छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार आइतबार पेप्सीकोला क्षेत्रबाट पक्राउ परेका युवकबाटै उक्त सामूहिक हत्या भएकाे देखिएकाे हाे।

अन्दाजी २० वर्षका ती युवकको पहिचान खुलाइएको छैन। हत्या किन गरियाे भन्नेबारे यकिन हुन पनि बाँकी रहेकाे जनाइएकाे छ। तर ती युवकले चार जनाकै हत्या आफूले गरेको भनी बयान दिएको प्रहरी स्रोतको भनाइ छ। बोल्न नसक्ने उनले कागजमा आफ्नो स्वीकारोक्ति व्यक्त गरेको प्रहरी स्रोतकाे दाबी छ। प्रहरी स्राेतका अनुसार उनले अंग्रेजीमा लेखेका छन्, ‘आई किल्ड फोर पिपल ।’

Hardik ivf

उनले दिएकाे बयानअनुसार मोरङ घर भएका १९ वर्षीय नवीन राईको मात्र हत्या गर्न दुईवटा खुकुरी बोकेर सःमिल पुगेकाे बताएका छन्। घटनाबारे थाहा पाउने भएपछि अरुमाथि पनि आक्रमण गरेको खुलेकाे छ। नवीनसँग आफ्नो रिसइबी रहेको र सोही कारण हत्या गरेको उनकाे भनाइ छ। हट्टाकट्टा देखिने उनले आफूले १२ कक्षा पास गरेको बताएका छन्।

आफूलाई नवीन राईले हाँकेको मोटरसाइकलले ठक्कर दिएको ती युवककाे बयान छ। तर प्रहरी अनुसन्धानबाट नवीनले बाइक चलाउने नगरेकाे, उनी घरबाट बाहिरसमेत जाने नगरेकाे तथ्य फेला परेकाे छ। दीपेन्द्रले भने मोटरसाइकल चलाउने गरेका थिए। नवीनलाई दीपेन्द्र भन्ठानेर हत्या गरेको हुन सक्ने अनुमान छ। दीपेन्द्र राई सःमिलमा आएको देखेपछि आरोपी फाल हालेर भागेकाे बताइएकाे छ।

तीनकुनेकाे गैरीगाउँस्थित दिव्य स:मिलभित्र काठले बनेको टहरामा चार जनाको हत्या गरिएको अवस्थामा शव फेला परेका थिए। एउटा शव नवीनकाे हाे भने बाँकी शव ५५ वर्षीय कुमार भुजेल, उनकी पत्नी ५० वर्षीया अम्बिका भुजेल र आमा ७० वर्षीया सुभद्रा भुजेलका हुन्। 

राति ११:५५ बजे प्रहरी वृत्त बानेश्वरमा २८ वर्षीय दीपेन्द्र पुगेका थिए। लुगा र जुत्तामा रगत लतपिटएकाे अवस्थामा उनी ट्याक्सी चढेर तीनकुनेस्थित प्रहरी कार्यालय पुगेका थिए। घटनाबारे जानकारी गराउन पुगेका उनलाई नियन्त्रणामा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको थियो। सीसीटीभी फुटेजमा दीपेन्द्र ११ बजेर १३ मिनेटमा सःमिलमा प्रवेश गरेर ११ः३३ मा निस्किएको पाइएको छ।यो घटना उनी पुग्नुभन्दा पहिला नै भएको प्रहरीको अनुसन्धानबाट देखिएको छ।

प्रकाशित मिति: १६:३६ बजे, आइतबार, भदौ ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्