गैरीगाउँ सामूहिक हत्या प्ररकणमा थप एकजना पक्राउ

काठमाडौं, भदौ ३१ : बानेश्वर गैरीगाउँमा शुक्रबार राति भएको हत्या प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले ती व्यक्तिलाई पक्राउ गरेको हो। उनको परिचय भने प्रहरीले खुलाएको छैन।
प्रहरीले भक्तपुरबाट पक्राउ परेका ती व्यक्ति हत्याको मुख्य अभियुक्त हुन सक्ने आशंका गरेको छ। गैरी गाउँमा शुक्रबार एकै परिवारका तीनजना सहित चार जनाको सामूहिक हत्या गरिएको थियो। प्रहरीले शनिबार घटनाको जानकारी गराउन ट्याक्सी चढेर गएका दीपेन्द्र राईलाई पक्राउ गरी अनुसन्धान थालेको थियो।
राईमाथि अनुसन्धान भइरहेका बेला अर्का व्यक्ति पनि पक्राउ परेका हुन्। आइतबार पक्राउ परेका व्यक्ति घटनास्थलको सीसीटीभी फुटेजबाट पहिचान भएको जनाइएको छ। पक्राउ ती व्यक्ति रातिको समयमा घटनास्थलबाट भक्तपुरतर्फ लागेको दृश्य सीसीटीभी क्यामरामा देखिएको जनाइएको छ।











