वार्ताबाट समाधानका लागि स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, भदौ ३१ : हेटौंडामा दुईजना डाक्टर कुटिएको विषयमा स्वास्थ्यकर्मी देशभर आन्दोलनमा उत्रिएपछि सरकारले वार्ताबाट समस्याको समाधान खोज्नुपर्ने बताएको छ।
नेपाल चिकित्सक संघको आव्हानमा आइतवारदेखि अस्पताल तथा क्लिनिकमा आकस्मिकबाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरिएपछि छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर वार्तामा बस्न तयार रहेको बताएको छ।
नेपाल चिकित्सक संघको तर्फबाट पेशागत हकहित र सुरक्षाबारेका विषयवस्तुलाई तत्काल सम्बोधनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री भदौ २९ को निर्णयले अतिरिक्त स्वास्थ्य सचिव डा.विकास देवकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन भइसकेको विज्ञप्तिमा उल्लेख छ।
समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रहने जानकारी पनि मन्त्रालयले दिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘वार्ताका लागि आव्हान भइसकेकाले नेपाल चिकित्सक संघका आधिकारिक प्रतिनिधिसँग यही आइतबार वार्ता हुने कार्यक्रम छ। छलफलवाट विवादको समाधानको पहल भइरहेको छ।’
शनिबार विज्ञप्ति जारी गर्दै चिकित्सक संघले सरकारी अस्पताल, निजी अस्पताल, मेडिकल कलेज तथा क्लिनिकको सेवा बन्द गर्ने घोषणा गरेको थियो। डाक्टरलाई कुटपिटमा संलग्नहरुलाई फौजदारी अभियोग तथा ऐनबमोजिम कारबाहीको सुनिश्चितताको माग चिकित्सकले राखेका छन्।
चितवनमा मृत्यु भएका बिरामीको बिषयलाई लिएर गत बुधबार हेटौँडास्थित सन्चो अस्पतालका दुई चिकित्सकमाथि कुटपिट भएको थियो।











