‘गठबन्धनमा खटपट छ, तर तत्काल सरकार परिवर्तनको सम्भावना छैन’
पछिल्लो समय नयाँ शक्ति उदाउनुमा नेतृत्वको कमजोरी रहेको उनले आरोप लगाए। उनले अब नेतृत्व सच्चिँदै युवा पुस्तालाई अघि बढाउनुपर्ने बताए।
चितवन, भदौ ३१ : नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताएका छन्।
चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै डा. कोइरालाले सत्ता गठबन्धनमा सामान्य खटपट भए पनि अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको बताएका छन्।
‘मेरो दृष्टिकोणले पुष्पकमल दाहाल नेतृत्वको सरकार पाँच वर्षसम्म जान सक्छ, मलाई त्यस्तो लाग्छ,’ उनले भने। सरकारको स्थायित्व आवश्यक रहेको उल्लेख गर्दै उनले स्थायित्वले मात्रै देशको विकास सम्भव रहेको बताए।
पार्टीभित्रको खिचातानी सरकारमा हुन नहुने उनको भनाइ थियो। विगतमा कतिपय समझदारी भएर पनि तोडिएको प्रसंग उल्लेख गर्दै उनले प्रधानमन्त्री दाहाल साधारण व्यक्ति नभएको बताए।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको तिक्तताका कारण पुनः एमालेसँग मिल्न जान सक्ने अवस्था नभएको उनले जिकिर गरे।
सम्भावना नेपालमा धेरै कुराको हुने जनाउँदै उनले अब कांग्रेस एक्लै हिँड्नुपर्ने बताए। ‘कांग्रेस सकेसम्म एक्लै जाने हो, कसैसँग मिल्नु छ भने अहिले मिलीराखेको छ भइहाल्यो,’ उनले भने, ‘मेरो दृष्टिकोणमा कांग्रेसले ठूलो पार्टी भए पनि प्रतिपक्षको नेतृत्व गरेको भए हुन्थ्यो।’
सच्चा कांग्रेस एक भएर लाग्नुपर्ने समय आएको डा. कोइरालले बताए। उनले भने, ‘इतिहास बलियो, सिद्धान्त राम्रो र परिवर्तनको महत्त्वपूर्ण भूमिका खेलेको कांग्रेस एक्लै अघि बढ्नुपर्छ।’
पछिल्लो समय नयाँ शक्ति उदाउनुमा नेतृत्वको कमजोरी रहेको उनले आरोप लगाए। उनले अब नेतृत्व सच्चिँदै युवा पुस्तालाई अघि बढाउनुपर्ने बताए। विचार राम्रो भए पनि कार्यशैलीमा परिवर्तन भए पार्टी एक्लै अघि बढ्न सक्ने उनले उल्लेख गरे।











