एनआरएनए अध्यक्षमा आरके शर्माको उम्मेदावरी घोषणा
शर्माले एनआरएनएका संस्थापक उपाध्यक्ष डा. देवकाजी डंगोल, कतारका अग्रज अभियन्ता तथा पूर्वउपाध्यक्ष सागर नेपालसहितको सपना साकार बनाउन अध्यक्षमा उठ्न लागेको बताए।
काठमाडौं, भदौ ३० : गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षका लागि आरके शर्माले उम्मेदवारी घोषणा गरेका छन्।
शर्माले कतारबाट अर्को महिना हुने अधिवेशनमा आफूले अध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा गरे। नेपाल महिला समाज कतार र एनआरएनए एनसीसी कतार महिला विभाग समन्वयमा ५७ वटा संघसंस्थाको आयोजनामा भएको तीज कार्यक्रममा शर्माले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन्।
‘कतारमा स्थापित सबै संघसंस्थाले गरेको कार्यक्रममार्फत मैले आगामी कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छु। १० दिनभित्र काठमाडौंमा औपचारिक कार्यक्रम गरेर आफ्नो एजेन्डासहित उम्मेदवारी घोषणा हुनेछ,’ अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै शर्माले भने।
शर्मा लामो समयदेखि कतारमै व्यवसाय गर्दै आएका छन्। उनले आफ्नो उम्मेदवारी सम्बृद्ध नेपाल बनाउन र विदेशमा रहेका सबै नेपालीलाई जोड्नका लागि भएको बताएका छन्।

आफूले कतारमा श्रमिक हुँदै व्यवसाय गरेर सामाजिक अभियानमा जोडिएको शर्माले बताएका छन्। उनले एनआरएनएका संस्थापक उपाध्यक्ष डा. देवकाजी डंगोल, कतारका अग्रज अभियन्ता तथा पूर्वउपाध्यक्ष सागर नेपालसहितको सपना साकार बनाउन अध्यक्षमा उठ्न लागेको बताए।
‘गैरआवासीय अभियान अन्तर्गत दोस्रो संघ कतारमा स्थापना भयो, संस्थापक उपाध्यक्ष समेत कतारबाट डा डंगोल बन्नुभयो,’ उनले भने, ‘त्यसपछि अग्रज सागर नेपाल उपाध्यक्ष बन्नुभयो। नेतृत्वमा लैजानको लागि पूर्वाग्रह राख्ने काम अहिलेसम्म भएको छ, यो पटक त्यो तोडिने छ।’
उनले गैरआवासीय अभियानमा आफूले विदेशमा बस्ने नेपालीका मुद्दाहरू नागरिकतादेखि लिएर श्रमिक तथा दोस्रो पुस्ताका मुद्दाहरू बोकेको बताए। मध्यपूर्वलगायत विश्वाभरिका सामाजिक अभियन्ताहरुको विचार र मन फरक भए पनि नेपालीका लागि नेपाली भन्ने मूल उद्देश्य अनुरुप साझा रूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
सोही संकल्प बोकेर मध्यपूर्वदेखि, युरोप, ओसियानालगायतका ३५ देश पुगेर त्यहाँ एनसीसी साथै सामाजिक अभियान्ता बुद्धिजिवीहरुसँग साक्षत्कार गर्दै सुझाव संकलन गरिरहेको उनले बताए।
कतारलाई कार्यथलो बनाएर स्वदेश र विदेशका विभिन्न मुलुकमा व्यवसाय गर्दै आएका शर्माले प्रवासमा रहेका नेपाली व्यवसायीसँगै श्रमिकहरुको हकहितका लागि सक्रिय रहने बताए।











