Kathmandu Press

काठमाडौंको गैह्रीगाउँस्थित सःमिलमा एकै परिवारका ३ सहित चार जनाको हत्या

काठ मिलमा गार्डका रूपमा कार्यररत कुमार भुजेलसहित उनको परिवारका ३ जना सदस्यको हत्या भएको हो।
काठमाडौंको गैह्रीगाउँस्थित सःमिलमा एकै परिवारका ३ सहित चार जनाको हत्या

काठमाडौं, भदौ ३० : काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा रहेको दिव्य सःमिलमा धारिलो हतियार प्रयोग गरी चार जनाको हत्या भएको छ।

काठ मिलमा काम गर्ने कुमार भुजेलसहित ४ जनाको हत्या भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए।

काठ मिलमा गार्डका रूपमा कार्यररत कुमार भुजेलसहित उनको परिवारका ३ जना सदस्यको हत्या भएको हो। अन्दाजी ५५-५६ वर्षका कुमार भुजेलकी श्रीमती अम्बिका भुजेल र ७६ वर्षकी आमा सुभद्रा भुजेलको समेत हत्या भएको छ। उनीहरू दोलखाका स्थायी बासिन्दा हुन्।

त्यस्तै मोरङको बेलबारीका अन्दाजी १९-२० वर्षीय नवीन राईको पनि हत्या भएको छ। मृतक सबैको टाउको तथा शरीरको विभिन्न भागमा धारिलो हतियारको चोट रहेको प्रहरीको भनाइ छ।

घटनास्थलबाट सोधपुछका लागि काठमाडौंको तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। शनिबार बिहान घटनास्थलको मुचुल्का उठाई शवहरू पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइसकिएको एसएसपी मैनालीले जानकारी दिए।

घटना राति १२ बजेतिरको भएको अनुमान गरिएको छ। घटनाको अनुसन्धानका लागि तालिमप्राप्त प्रहरी र कुकुरको समेत परिचालन गरिएको छ।

अहिले घटनास्थलमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालन गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: ०७:३३ बजे, शनिबार, भदौ ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्