विमानस्थल पूर्वाधार विकासमा ध्यानदिन प्राधिकरणलाई प्रधानमन्त्रीको निर्देशन
उनले देशभर हवाई सेवा प्रदान गर्दै आएको ३० वटा विमानस्थलहरुको पूर्वाधार विकासको काम तिव्रताका साथ अगाडि बढाउन प्राधिकरणलाई विशेष निर्देशन दिए।
काठमाडौं, भदौ ३० : प्रधानमन्त्री पुष्पकमल दाहालले विमानस्थलको पूर्वाधार र उपकरणहरुको विकासलाई प्राथमिकताका साथ अघि बढाउन प्राधिकरणलाई निर्देशन दिएका छन्।
नेपाल नागरिक उड्डयान प्राधिकरणको सिनामंगलस्थित प्रधान कार्यालय भवन उद्घाटन गर्दै उनले देशभर हवाई सेवा प्रदान गर्दै आएको ३० वटा विमानस्थलहरुको पूर्वाधार विकासको काम तिव्रताका साथ अगाडि बढाउन प्राधिकरणलाई विशेष निर्देशन दिएका हुन्।
‘जिल्लाहरुसहित देशभरका ३० वटा विमानस्थलले हवाई सेवा प्रदान गरिरहेका छन् यद्यपी यी विमानस्थलको पूर्वाधार विकास, उपकरणहरुको प्रवन्धलगायतका विषयमा गम्भीर ध्यान दिनुपर्ने आवश्यक छ,’ उनले भने, ‘प्राधिकरणले आगामी दिनमा यस क्षेत्रमा पनि थप मेहेनत गर्ने विश्वास मैले लिएको छु । यस कार्यलाई तिव्रताका साथ अगाडि बढाउन प्राधिकरणलाई विशेष निर्देशन पनि जारी गर्न चहान्छु।’
प्रधानमन्त्री दाहालले चीन भ्रमणमा पोखरा अन्तराष्ट्रिय विमानस्थललाई पूर्ण रुपमा सञ्चालन गर्न सहयोग जुटाउने विषयमा ध्यान केन्द्रीत रहेको पनि बताए। उनले त्रिभुवन विमानस्थलको आधुनिकिकरण गर्ने गुरु योजना अन्तिम तहमा पुगेको र निजगढ अन्तराष्ट्रिय विमानस्थलको निमार्ण कार्य अगाडि बढाउन मन्त्रिपरिषद्को बैठकबाट ठोस निर्णय लिने पनि बताए।
उनले निजगढ अन्तराष्ट्रिय विमानस्थलको विज्ञ समूहबाट प्राप्त सुझावका आधारमा निमार्ण कार्य अगाडि बढाउने बताए। उनले पूर्वाधार विकास र हवाई सुरक्षामा प्राधिकरणले लिएको पहलप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा थप स्पष्ट नीति र कार्ययोजनाका साथ अगाडि बढ्न निर्देशन पनि दिएका छन्।











