‘तीज र दसैं नेपालीको मौलिक र साझा पर्व हुन्’
तीज विशेष कार्यक्रममा उनले तीज, दसैं लगायतका चाडपर्व कुनै जात र धर्म विशेषको नभएर साझा पर्व भएको बताए।
झापा, भदौ ३० : राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले तीज र दसैं सबै नेपालीको साझा र मौलिक पर्व भएको बताएका छन्।
राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन मेचीनगरले धुलाबारीमा आयोजना गरेको तीज विशेष कार्यक्रममा उनले तीज, दसैं लगायतका चाडपर्व कुनै जात र धर्म विशेषको नभएर साझा पर्व भएको बताए।
‘तीज र दसैं जस्ता चाडपर्व हिन्दूको मात्र हो भनेर अन्य जाति र समुदायलाई भड्काउने किसिमले दुष्प्रचार हुँदै आएको छ,’ उनले भने, ‘यी चाडपर्व सदियौंदेखि सबै जातजाति र धर्मका नेपालीले मनाउने गरेका छन्। पछिल्लो समय दुष्प्रचार गरेर बाहुन र क्षेत्रीको मात्र हो, जनजातिको होइन भनेर बहिष्कार गर्ने गलत काम हुन थालेको छ।’
संसारमा सबैभन्दा धेरै हिन्दू भारतमा भएको जनाउँदै उहाँले भारतमा दसैँमा रातो टीका लगाउने चलन नभएको स्मरण गराए। दसैंमा रातो टीका र जमरा लगाउने संस्कृति हाम्रो नेपालमा मात्र भएको हुँदा यसलाई नेपालीको साझा र मौलिक पर्व मानिएको उलने बताए।
अध्यक्ष लिङ्देनले राजनीतिक प्रसङ्गमा बोल्दै राप्रपालाई नवीन सोच र शैलीका साथ मुलुकको अग्रणी शक्तिका रूपमा स्थापित गरिने बताए। उनले ठूला राजनीतिक दलले पुरानो व्यवस्था र राजसंस्थालाई गाली गरेर सत्ता सञ्चालन गरिरहेको र जनताले आर्थिक परिवर्तनको अनुभूति गर्न नपाएको जिकिर गरे।











