चिकित्सक कुटपिट गर्नेमाथि अनुसन्धान गर्न तीन दिन म्याद थप
प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले पीडित चिकित्सकले दिएको जानकारी र सिसि क्यमेराका आधारमा पक्राउ परेकामाथि अनुसन्धान र कारवाही हुने बताए।
मकवानपुर, भदौ २९ : हेटौंडामा रहेको सञ्चो अस्पतालका चिकित्सकमाथि अस्पताल हाताभित्रै कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनामाथि थप अनुसन्धान गर्न जिल्ला अदालतले तीन दिनको म्याद दिएको छ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको प्रहरी हिरासतमा राखी अनुसन्धान गरिने छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सञ्चो अस्पतालका चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त विडारीलाई कुटपिट गरेको बुधबार कुटपिट भएको थियो। कुटपिटको आरोपमा प्रहरीले रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानलाई पक्राउ गरेको छ।
प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले पीडित चिकित्सकले दिएको जानकारी र सिसि क्यमेराका आधारमा पक्राउ परेकामाथि अनुसन्धान र कारवाही हुने बताए।
घटना विवरणअनुसार गत साउन २५ गते डेङ्गु रोगबाट सङ्क्रमित हेटौंडा–१२ का राजेश प्रधानको मृत्युको विषयलाई लिएर आक्रोशित मृतक प्रधानका आफन्तले चिकित्सकद्वय डा. थापा र विडारीमाथि बुधबार हातपात तथा कुटपिट गरेका थिए।
चिकित्सकमाथि भएको कुटपिटको विरोधमा आज हेटौंडामा रहेका सरकारी, निजी तथा क्लिनिकका चिकित्सकले आकस्मिक सेवाबाहेक उपचारका सबै सेवा ठप्प पारेका छन् । डा थापा सञ्चो अस्पतालका जनरल फिजिसियन हुन् भने डा. विडारी हेटौंडा अस्पतालका एनएस्थेसिया विभागमा कार्यरत छन्।











