Kathmandu Press

एनआरएनए अध्यक्षमा महेश श्रेष्ठको उम्मेदवारी

संघको प्रतिष्ठा र गरिमामाथि प्रश्न उठिरहेको भन्दै श्रेष्ठले विश्वभर छरिएर रहेका प्रवासी नेपालीहरुलाई एकताको सूत्रमा बाँधी भरोसायोग्य, विश्वसनीय र संगठित एनआरएनए बनाउने दृढता व्यक्त गरे।
एनआरएनए अध्यक्षमा महेश श्रेष्ठको उम्मेदवारी

काठमाडौं, भदौ २९ : गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं महाधिवेशनका लागि महेशकुमार श्रेष्ठले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।

शुक्रबार काठमाडौंमा एक कार्यक्रम गर्दै वर्तमात उपाध्यक्ष श्रेष्ठले आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन्।

अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले आगामी दुई बर्षको लागि पाँच नीतिगत योजनासहितको प्रतिबद्धता पत्र पनि सार्वजनिक गरे।

संघको प्रतिष्ठा र गरिमामाथि प्रश्न उठिरहेको भन्दै श्रेष्ठले विश्वभर छरिएर रहेका प्रवासी नेपालीहरुलाई एकताको सूत्रमा बाँधी भरोसायोग्य, विश्वसनीय र संगठित एनआरएनए बनाउने दृढता व्यक्त गरे।

सबल, साझा र एकताबद्ध, परिणाममुखी, पारदर्शी र समावेशी एनआरएनए बनाउने आफ्नो प्रमुख उद्देश्य र सर्वोच्च प्राथमिकता हुने बताए।

‘एनआरएनएमा विगतको मेरो भूमिकालाई नजिकबाट अवलोकन गर्नुहुने सम्पूर्ण गैरआवासीय नेपाली समुदायलाई म पद र प्रतिष्ठाका लागि भन्दा पनि संघलाई ठोस योगदान दिने उद्देश्यले सक्रिय हुँदै आएको छु,’ उनले भने, ‘विजयी भएर शपथ लिएका दिनदेखि वार्षिक क्यालेन्डर र कार्ययोजना  बनाएर सबैको विश्वास जित्नेगरी काम गर्ने संकल्प व्यक्त गर्दछु।’

श्रेष्ठले दुई बर्षे कार्यकालमा नेपालमा वैदेशिक लगानी भित्र्याउन ठोस नीतिगत पहल गर्ने मात्र होइन, गैरआवासीय नेपालीहरुको पुँजीलाई जन्मभूमिको विकासका लागि योगदान गर्ने उद्देश्यले सुरू गरिएको रु १० अर्बको सामूहिक लगानी कोषलाई तत्कालै कार्यान्वयन गर्ने पहिलो प्राथमिकतामा राखेको बताए।

जन्मभूमिको विकासका लागि योगदान गर्न चाहने सबै गैरआवासीय नेपालीहरु समेट्ने उद्देश्यले सो कोषमा न्यूनतम २५० डलर लगानीको अवसर प्रदान गर्ने लक्ष्य आफ्नो रहेको उनले बताए ।

गैरआवासीय नेपालीहरुको लगानीलाई सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई पनि लगानी कोषमा समेट्नका लागि आवश्यक कानुनहरुलाई समयानुकूल परिमार्जित तथा संशोधन गर्दै गैरआवासीय नेपालीको लगानीलाई समेत नेपालको धितोपत्र विनिमय बजारमा प्रवेश गराउन दिनरात प्रयास गर्ने प्रतिबद्धता पनि उनले गरेका छन्।

श्रेष्ठले अर्थतन्त्र मजबुत बनाउने सवालमा दीर्घकालिन योजना र महत्वाकांक्षी सपनाहरु देख्नुपर्छ भन्ने मान्यता अनुरुप सन् २०३० सम्म नेपालको अर्थतन्त्र १०० अर्ब डलरको बनाउन एउटा स्पष्ट खाकासहित संघले नेपाल सरकार तथा नेपालको निजी क्षेत्रसंग सहकार्य गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन्।

संस्था स्थापनादेखि नै प्रवासी नेपालीहरुको मुद्दामा सक्रियतापूर्वक काम गरेको उल्लेख गर्दै उनले विदेशमा आर्जन गरेको ज्ञान, सिप, प्रविधि र पुँजीलाई स्वदेशको विकास र समृद्धिका लागि उपयोग गर्न नेपाल सरकारसंग सहकार्य गरी श्रम तथा सिप बैंक स्थापना गर्ने प्रतिबद्धता जनाए।

वैदेशिक रोजगारीमा देखिएका समस्याहरुको निराकरणमा सारथी बन्ने उल्लेख गर्दै अध्यक्षका उम्मेदवार श्रेष्ठले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका नेपाली श्रमिकका परिवारलाई वैदेशिक रोजगार बोर्डमार्फत उपलब्ध गराउँदै आएको आर्थिक सहायता कम्तीमा १५ लाख रुपैयाँ पुर्याउने व्यवस्था मिलाउन पहल गर्ने, श्रम स्वीकृति नलिई वा श्रम स्वीकृतिको अवधि समाप्त भई मृत्यु भएका श्रमिकका परिवारले पनि राहत रकम पाउने व्यवस्था मिलाउने दृढता व्यक्त गरे ।  साथै नेपाल सरकार, वैदेशिक रोजगार व्यवसायी संघ र दातृ निकायसंग समन्वय गरी १० करोडको श्रमिक कल्याण कोष खडा गर्ने प्रतिबद्धता पनि उनले जनाए ।

विदेशमै बसेर मातृभूमिको प्रवर्द्धन र प्रचारमा गैरआवासीय नेपालीहरुको सक्रिय सहभागिताका लागि ‘एक साथी नेपाल पठाउँ’, ‘नेपाली भाषा र संस्कृति जोगाऔं’ अभियान र नेपाल फेस्टिवल जस्ता कार्यक्रमलाई संसारभर सञ्चालन गर्ने लक्ष्य लिएको पनि उनले सुनाए।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछानेले श्रेष्ठलाई संघभित्र एकताको सूत्रधार भन्दै उनलाई सफलताको शुभकामना दिएका छन्।  

अर्का पूर्वअध्यक्ष भवन भट्टले उनलाई समर्थ उम्मेदवार भनेका छन् भने अर्का पूर्वअध्यक्ष कुमार पन्तले उनलाई गतिशील एनआरएनए बनाउन अग्रिम शुभकामना दिए।  

 

प्रकाशित मिति: १९:१० बजे, शुक्रबार, भदौ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्