Kathmandu Press

कान्तिमा उपचार नपाएर बालिकाको मृत्यु भएको जस्ताे घटना दाेहाेरिन नदिने प्रधानमन्त्रीकाे प्रतिबद्धता

कांग्रेसका नेता महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारलाई सरकारले गम्भीररुपमा लिएको र आक्रमणकारीलाई प्रचलित कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइएको जानकारी गराए।
कान्तिमा उपचार नपाएर बालिकाको मृत्यु भएको जस्ताे घटना दाेहाेरिन नदिने प्रधानमन्त्रीकाे प्रतिबद्धता

काठमाडाैं, भदाै २९ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्ति अस्पतालमा उपचार नपाएर बालिकाको मृत्यु भएको घटनामा अध्ययन  प्रतिवेदनका आधारमा आकस्मिक कक्षमा खटिएकाहरुबाट संवेदनशीलता प्रदान गर्न नसकेको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा बाेल्ने क्रममा उनले अस्पतालले सुधार गर्न नसकेका व्यवस्थापकीय कमजोरी नै उपरोक्त प्रकृतिका घटनाका लागि जिम्मेवार रहेको निष्कर्ष रहेको बताए। प्रधनमन्त्री प्रचण्डले यस्ता घटनामा दोषी पाइएकालाई कारबाहीको दायरामा ल्याइने र आगामी दिनमा यस्ता घटना दोहरिन नदिन थप कदम चालिने स्पष्ट पारे।

आफ्नो चीन भ्रमणका क्रममा दुईदेशीबीच परम्परागत घनिष्ट र सहयोगात्मक सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीको हैसियतमा गर्ने चीनको औपचारिक भ्रमणबाट दुई देशबीच रहिआएको परम्परागत घनिष्ट र सहयोगात्मक सम्बन्ध थप सुदृढ हुने तथा आपसी सहयोगका क्षेत्रहरू थप विस्तार हुँदै जाने विश्वास व्यक्त गरे। भ्रमणलाई नेपाल र नेपाली जनताको हित एवं नेपाल चीन सम्बन्धलाई थप मजबुत तुल्याउन सदुपयोग गर्ने प्रयास रहने उनले जिकिर गरे। चीनमा रहदा हाङ्गजाउमा नै चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भेटघाटको कार्यक्रम रहेको र सोही १९ औं एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुने उनले जानकारी दिए।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले छोङछिङ्ग एकेडमी अफ एग्रीकल्चरल साइन्समा पुगेर अवलोकन गर्ने र छोङछिङ्गको भ्रमण पश्चात नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने कार्यक्रम रहेको बताए। त्यसअघि संयुक्त राष्ट्रसंघको महासभामा असोज ४ गते नेपालको तर्फबाट सम्बोधन गर्ने उनले बताए। सो अवसरमा नेपालले हासिल गरेका राजनीतिक उपलब्धिहरूबारे अवगत गराउने, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने जलवायु परिवर्तनको असरका बारेमा विश्व समुदायको ध्यानाकर्षण गराउने तयारी रहेको उनले जानकारी दिए।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले सदनमा उठेका विभिन्न विषयको जवाफ दिँदै अवैध सुन तस्करीको सम्बन्धमा उच्चस्तरीय छानविन आयोग बनाउने प्रक्रिया अगाडि बढेको बताए। यसैगरी कांग्रेसका नेता महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारलाई सरकारले गम्भीररुपमा लिएको र आक्रमणकारीलाई प्रचलित कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइएको जानकारी गराए। यस प्रकारका आक्रमणका घटना हुन नदिन र शान्ति सुव्यवस्था मिलाउन सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ।

प्रकाशित मिति: १४:२४ बजे, शुक्रबार, भदौ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्