संसदीय सुनुवाइ समितिद्वारा प्रस्तावित न्यायाधीश विनोद शर्माको नाम अनुमोदन
सिंहदरबारमा शुक्रबार बसेको बैठकले शर्मालाई बोलाएर सुनुवाइ गरेपछि सर्वसम्मतले अनुमोदन गर्ने निर्णय गरेको हो।
काठमाडाैं, भदाै २९ : संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्माको नाम अनुमोदन गरेको छ।
सिंहदरबारमा शुक्रबार बसेको बैठकले शर्मालाई बोलाएर सुनुवाइ गरेपछि सर्वसम्मतले अनुमोदन गर्ने निर्णय गरेको हो। यसअघि विनोद शर्माविरुद्ध उजुरी गर्न १० दिनको सार्वजनिक सुचना जारी गरेपनि उनीविरुद्ध कुनै उजुरी प्राप्त नभएपछि समितिले सिधै सुनुवाई गरेको थियो।
समिति सभापति पशुपतिशम्शेर राणाले न्याय परिषदको पत्रानुसार शर्मालाई सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशमा सिफारिस गरेबमोजिम संसदीय सुनुवाइ गरेर शर्माको नाम सर्वसम्मतले अनुमोदन गरिएको जानकारी दिए।
त्यसअघि सुनवाइका क्रममा प्रस्तावित न्यायाधीश शर्माले न्यायालयमा हुने ढिलासुस्तीलाई कम गर्ने, प्रभावकारी कानुनी उपचारको व्यवस्थामा आफ्नो ध्यान केन्द्रित हुने बताए। शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको सिद्धान्तलाई आत्मासात गर्दै आफूले कार्यसम्पादन गर्ने समेत उहाले बताए। उहाले न्यायालयप्रति जनताको विश्वास कायम गर्न पनि प्रभावकारी रुपमा काम गर्ने जिकिर गरे।
न्यायपरिषद्को गत भदौ १० गते बसेको बैठकले शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो।











