स्वास्थ्य र शिक्षा क्षेत्रको विकास नै भौतिक विकासको आधार हो : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं, भदाै २९ : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले शिक्षा र स्वास्थ्य क्षेत्रको विकास नभई राष्ट्रको विकास सम्भव नभएको बताएका छन्।
राष्ट्रिय जनसंख्या सम्मेलन २०८० लाई काठमाडौंमा सम्बोधन गर्दै उनले, शिक्षा र स्वास्थ्य क्षेत्रको विकास भौतिक निमार्णसँग होईन मानवीय संवेदनासँग जोडिएको बताए । मानवीय संवेदनालाई सम्बोधन नगरी भौतिक विकासले मात्रै देश विकास भएको मान्न नसकिने उनको तर्क छ।
‘म मन्त्री भएपनि नभएपनि कुनै पदमा भए पनि नभए पनि शिक्षा र स्वास्थ्य जनताको आधारभूत आवश्यकता हो । यसको विकासबिना व्यक्तिदेखि राष्ट्रसम्मको विकास सम्भव हुदैँन् त्यसकारण यस क्षेत्रमा लागिरहेको छु,’ उनले भने, ‘यो काम भौतिक निमार्णसँग होईन मानविय संवेदनासँग जोडिएको विषय हो । त्यसकारण हामी यसमा बढि गम्भीर हुनु आवश्यक छ । राम्रो काम गर्नुपर्छ र त्यसको सुरुवात आफैँबाट गर्नुपर्छ । हामीसँग विकृती र विसंगती धेरै छन् त्यसलाई चिर्न आवश्यक छ ।’
यस्तै, उनले तीव्र सहरीकरणका कारण सहरी सुविधाहरु बढाउँन र विकासको ढाँचामा परिवर्तन गर्न आवश्यक देखिएको भन्दै जनसंख्या व्यवस्थापनमा सबै तहका सरकार तथा गैर सरकारी क्षेत्रको समन्वय र सहकार्य आवश्यक भएको बताए।
उनले भने, ‘जनसंख्या व्यवस्थापनका नयाँ चुनौतीहरु देखा परेका छन् ।
तीव्र सहरीकरणका कारण सहरी सुविधाहरु बढाउँन आवश्यक देखिएको छ भने अर्को तिर पुराना बस्ती र गाँउहरु रित्तो हुदैँ जादाँ विकासको ढाँचामा परिवर्तन गर्न आवश्यक देखिएको छ । जनसंख्या व्यवस्थापनमा सबै तहका सरकार तथा गैर सरकारी क्षेत्रको समन्वय र सहकार्य आवश्यक भएको छ ।’
उनले जनसंख्याको सन्तुलन, व्यवस्था र विकास गर्न सकेनौ र विकासका कार्यक्रमहरु दुर्गम बस्तीमा पु¥याउँन सकेनौ भने समस्या समाधान नहुने भन्दै विपन्न वर्गलाई बढि लक्षित गरेर काम गर्दा देशभरका दातृ संस्थाहरु सहयोग गर्न तयार हुने बताए।
उनले भने, ‘हामी जनताले देख्ने गरी विपन्न वर्गलाई बढि लक्षित गरेर काम गर्ने हो भने नेपाल सरकारको मात्रै पैसा लाग्दैन् देशभरका दातृ संस्थाहरुले सहयोग गर्न तयार हुन्छ । अहिले देशको कुनै पनि नागरिक पैसा नभएको कारणले आफ्नो ज्यान गुमाउँने पर्दैन् त्यसको जिम्मा म लिन्छु । जनसंख्याको सन्तुलन, व्यवस्था र विकास गर्न सकेनौ र विकासका कार्यक्रमहरु दुर्गम बस्तीमा पु¥याउँन सकेनौ भने समस्या हुन्छ ।’
हिजोको पुरातन शैलीभन्दा पनि नयाँ कार्ययोजना बनाएर कसरी अगाडि बढ्ने भन्ने कुराको निष्कर्ष भेलाले निकाल्ने विश्वास लिएको पनि उनको भनाई छ।











