कान्ति बाल अस्पतालमा बालिकाको मृत्युकाे कारण चरम लापरबाही : प्रतिवेदन
अस्पतालको लापरबाहीका कारण १८ भदौमा रेजिशाको मृत्यु भएको थियो। उक्त खबर संचारमाध्यममा प्रकाशित भएपछि डा.प्रकाश जोशीको संयोजकत्वमा नर्सिङ अधिकृत अजिता सिलवाल र शाखा अधिकृत डम्बरु दाहाल सदस्य रहेको छानबिन समिति गठन भएको थियो ।
काठमाडौं, भदौ २९ : कान्ति बाल अस्पतालमा मकवानपुरकी पाँच वर्षीया बालिका रेजिशा गोपालीको मृत्यु प्ररकणमा चिकित्सकको समेत गम्भीर लापरबाही देखिएको भन्दै छानविन समितिले स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई प्रतिवेदन बुझाएको छ।
बालिका रेजिशाको इमर्जेन्सी वार्डमा पालो कुर्दाकुर्दै उपचार नपाएर मृत्यु भएको थियो। अस्पतालको लापरबाहीका कारण १८ भदौमा रेजिशाको मृत्यु भएको थियो। उक्त खबर संचारमाध्यममा प्रकाशित भएपछि डा.प्रकाश जोशीको संयोजकत्वमा नर्सिङ अधिकृत अजिता सिलवाल र शाखा अधिकृत डम्बरु दाहाल सदस्य रहेको छानबिन समिति गठन भएको थियो ।
छानविन प्रतिवेदनले बालिकाका आफन्तले पटक–पटक अनुनय गर्दा पनि सेक्युरिटी गार्डले पालोमा राखेको भए पनि चिकित्सक भने इमर्जेन्सी कक्षमा नरहेको तथ्य उजागर गरेको छ। उच्च ज्वरो र निरन्तर बान्ता भएर थलिएकी रेजिशालाई १८ भदौको साँझ आमा रिता गोपाली र हजुरबुबा कृष्णबहादुर गोपालीले कान्तिको इमर्जेन्सीमा लगेका थिए।
तत्काल उपचारको व्यवस्था मिलाइदिन हार गुहार गरे पनि अस्पतालका कर्मचारीले पालोमा कुराएका थिए । दुई घण्टा पालो कुर्दा समेत उपचार नपाएपछि हजुरबुबा कृष्णबहादुरको काखमै रेजिशाले प्राण त्यागेकी थिइन्। प्रतिवेदनले बालिकाको उपचारमा चरम लापरबाही औंल्याउँदै ड्युटीमा रहेका चिकित्सकलाई कारवाहीको सिफारिस समेत गरेको जनाइएको छ।











