Kathmandu Press

हेटौंडाकाे अस्पतालमा डाक्टर कुट्ने चारजना पक्राउ

हेटौंडाकाे अस्पतालमा डाक्टर कुट्ने चारजना पक्राउ

हेटौंडा, भदाै २८ : मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त बिडारीमाथि भएको कुटपिटमा संलग्नकाे आरोपमा थप दुई जना पक्राउ परेका छन्।

डेंगु संक्रमणको कारण एक महिना अघि मृत्यु भएका हेटौँडा १२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तसहितको समूहले बुधबार दुई जना डाक्टरलाई अस्पताल भित्रै प्रवेश गरेर कुटपिट गरेकाे थियाे।

मकवानपुर प्रहरीले सीसीटीभी फुटेज हेरेर मृतककी श्रीमती रमा र छोरी रमितालाई  पक्राउ गरेकाे हाे। घटनामा संलग्न छोरा रोहित र भतिज अनुप प्रधानलाई पक्राउ परिसकेकाे जनाइएकाे छ। आक्रमणमा संलग्न अन्यको विषयमा भने छानबिन भइरहेको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसारप्रहरीले कुटपिटमा संलग्न चार जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

बुधबार भएकाे हातपातबाट डा. विडारीको आँखा र अनुहारमा चोट लागेको छ भने डा. थापाको गाला र अनुहार सुन्निएको छ। नेपाल चिकित्सक संघले बुधबार  विज्ञप्ति जारी गरेर बिरामीको उपचारमा खटिएका चिकित्सकमाथि सांघातिक आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ।

संघका महासचिव डा. सञ्जीव तिवारीद्वारा जारी विज्ञप्तिमा घटनामा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन, २०७९ बमोजिम कानुनी कारबाही गर्न सरकार समक्ष माग गरिएकाे छ।

 

 

प्रकाशित मिति: १४:३१ बजे, बिहीबार, भदौ २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्