नेम्वाङको राजकीय सम्मानसाथ अन्त्येष्टि
पशुपति आर्यघाट पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली दिए। एमालेका अध्यक्ष केपी ओलीले नेम्वाङको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाए।
काठमाडाैं, भदाै २८ : संवधिानसभाका अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसाथ अन्त्येष्टि गरिएको छ। आज (बिहीबार) मध्याह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो। बालुवाटारस्थित निवासबाट नेम्वाङको पार्थिव शरीर पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरिएको हो।
नेम्वाङलाई छोराहरुले दागबत्ती दिएका छन् । पशुपति आर्यघाटमा अन्तिम संस्कारका क्रममा छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका हुन्। उनको अन्त्येष्टि मुन्धुम र हिन्दु संस्कृति अनुसार गरिएकाे हाे।

निवासबाट मुन्धुम संस्कृति अनुसारको विधिपूर्वक उठाइएको थियो। बालुवाटारबाट पशुपति आर्यघाट नेम्वाङकाे नेपाली सेनाको ब्यान्ड टोलीसहित शवयात्रा गरिएकाे थियाे। यात्रामा शुभेच्छुक तथा सर्वसाधारणकाे भिड थियाे। पशुपति आर्यघाट पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली दिए। एमालेका अध्यक्ष केपी ओलीले नेम्वाङको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाए।

नेम्वाङलाई श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत पनि आर्यघाट पुगेका थिए। यही भदौ २६ गते हृदयघातका कारण नेम्वाङको निधन भएको थियो। निधनपछि नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासल र बालुवाटारस्थित निवासमा राखिएको थियो।





















