गोकर्णेश्वरमा बुवालाई सम्झनेहरू
भाद्रकृष्ण औंसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ पुस्ता अघिदेखिका पितृहरु तर्दछन् भन्ने धार्मिक विश्वास छ ।
काठमाडाैं, भदौ २८ : दिवंगत पितृलाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडाैंको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया (पितृ तीर्थ धाम) मा भक्तजनको भीड लागेको छ। भाद्रकृष्ण औंसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ पुस्ता अघिदेखिका पितृहरु तर्दछन् भन्ने धार्मिक विश्वास छ । आजकै दिन आफ्ना बाबुलाई मीठोमीठो खान दिई बाबुको मुख हेर्ने पर्व पनि मनाइँदैछ ।

यही विश्वासका कारण आज बिहानैदेखि वैदिक सनातन हिन्दु धर्मावलम्बी र बौद्ध धर्मावलम्बीकोसमेत गोकर्णेश्वर मन्दिर परिसरमा भीड लागेको हो । गोकर्णमा भक्तजनको भीडका कारण आज बिहानैदेखि सुन्दरीजल –जोरपाटी र बागमतीको कोरिडोर भएर गुड्ने सवारीसाधनलाई निषेध गरिएको बौद्धस्थित ट्राफिक प्रहरी वृत्तले जनाएको छ।

सत्ययुगमा ब्रह्माले नै स्थापना गरेको स्थल भएकाले यहाँ आई पितृलाई तर्पण, सिदादान र पिण्डदान गर्नाले अगति परेका पितृ पनि तर्दछन् भन्ने धार्मिक विश्वासका कारण पनि आज भाद्र कृष्ण औंसीका दिनमा यस मन्दिरमा भक्तजनको भीड बढ्ने गरेको मन्दिरका पूजारी जगदीश भट्ट बताउँछन्। गोकर्णेश्वर मन्दिर क्षेत्रमा आज बेलुकीसम्म नै पितृका नाममा श्रद्धाभाव प्रकट गर्ने भक्तजनको भिड लाग्ने मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहेका गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महत बताउँछन्।

मेलाका लागि बुधबारदेखि नै २०० स्वयंसेवक खटाइएको पनि उनी बताउँछन्। आज बेलुकीसम्म करिब ५ लाख भक्तजनले मन्दिर क्षेत्रमा आएर पितृप्रति सम्मानभाव प्रकट गर्न सक्ने गरी व्यवस्थापन गराइएको पनि समितिले जनाएको छ । बिहान १० बजेसम्म करिब सवा दुई लाख भक्तजनले गोकर्णेश्वरबाट उत्तरगयासम्म बागमती किनारमा बसेर पितृप्रति सम्मानभाव प्रकट गरेको अध्यक्ष महताेकाे भनाइ छ।





































