नेपालको अर्थतन्त्र चर्को दबाबमा छ : प्रधानमन्त्री दाहाल
दाहालले नेपालको अर्थतत्र अझै पनि चर्को दबावमा रहेको स्वीकार गर्दै यो अवस्थालाई गम्भीर रुपमा नलिए अप्ठ्यारो स्थिति आउने बताए।
काठमाडौं, भदौ २७ : प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको अर्थतन्त्र चर्को दबावमा रहेको स्वीकार गरेका छन्।
बुधबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा दाहालले नेपालको अर्थतत्र अझै पनि चर्को दबावमा रहेको स्वीकार गर्दै यो अवस्थालाई गम्भीर रुपमा नलिए अप्ठ्यारो स्थिति आउने बताए।
‘म प्रधानमन्त्री हुँदै गर्दा एउटा आतंक थियो, नेपाल श्रीलंका भइसक्यो भन्ने थियो। कम्तिमा अहिले त्यस्तो छैन। तर, अर्थतन्त्र चाँही चर्को दबाबमा अहिले पनि छ,’ प्रधानमन्त्री दाहालले भने,‘अर्थतन्त्र सहज भइसक्यो भन्ने मेरो बुझाई छैन् अहिले पनि स्थिति गम्भीर छ । हामी सबैले गम्भीर ढंगले नलिने हो भने अप्ठ्यारो स्थिति बन्न सक्छ।’
प्रधानमन्त्री दाहालले देशको आर्थिक अवस्था सुधार तथा सुशासनको पक्षमा सरकारले सकेको जति बल गरेर काम गरिरहेको बताए। आर्थिक अवस्थामा सुधार गर्न राष्ट्र बैंकको मौद्रिक नीति र सरकारको वित्तीय नीतिमा तालमेल मिलाउन धेरै प्रयास गरेको बताए ।
‘सरकारले गुड गर्भनेन्सको पक्षमा अहिलेको हाम्रो परिस्थितिमा सकिने जति बल गरिएको छ, थुप्रै बेथितिहरुमाथि एकपछि अर्को गरेर त्यसमाति प्रहार गर्ने र करेक्सन गर्ने कोशिस गरिएको छ,’ उनले भने। उनले राष्ट्र बैंकको मौद्रिक नीति र सरकारको वित्तीय नीतिको बीचमा तालमेल कसरी कायम गर्ने भन्ने विषयमा धेरै मेहनत गरिएको बताए।
अहिलेको परिस्थितिमा सुशासन र सामाजिक न्यायको क्षेत्रमा सरकारले सकेजति काम गरेको उनको भनाई थियो।











