Kathmandu Press

जन्मथलो सुन्तलाबारीवासीको सम्झनामा नेम्वाङ

नेम्वाङको छिमेकीसमेत रहेका श्रेष्ठले भने, 'हिजो दिनभर घरमै बसे। आज बिहानै उठेर उहाँ जन्मिएको घरमा गएँ। ताल्चा लगाएको सुनसान घरको वरिपरि हेरेँ। विगतका मीठा पल सम्झिएँ। विरक्त लाग्यो।'
जन्मथलो सुन्तलाबारीवासीको सम्झनामा नेम्वाङ

फिक्कल (इलाम), भदौ २७ : इलाम नगरपालिका–७ स्थित सुन्तलाबारीमा जन्मेका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि मंगलबार इलामसहित देश नै शोकमग्न बन्यो। मंगलबारको अप्रिय खबर सुनेर सुन्तलाबारीका कृष्ण श्रेष्ठ बुधबार बिहानै नेम्वाङको जन्मघर पुगे। 

नेम्वाङको छिमेकीसमेत रहेका श्रेष्ठले भने, 'हिजो दिनभर घरमै बसे। आज बिहानै उठेर उहाँ जन्मिएको घरमा गएँ। ताल्चा लगाएको सुनसान घरको वरिपरि हेरेँ। विगतका मीठा पल सम्झिएँ। विरक्त लाग्यो।'

अब फेरि देशले उनीजस्तो अर्को सुवासचन्द्र पाउन मुश्किल हुने उनी बताउउँछन्। 'उहाँ हाम्रो देशको गहना हुनुहुन्थ्यो, नेम्वाङले इलाममा सम्झनायोग्य थुप्रै काम गरेको छ। इलामको मात्र होइन झापा, पाँचथर र ताप्लेजुङको विकासका लागि पनि महत्त्वपूर्ण योगदान पुर्याउनुभएको छ,' श्रेष्ठले भने। इलाम क्षेत्र नं २ को पश्चिमी क्षेत्रमा करिब रु छ अर्बको लागतमा निर्माणाधीन सडक बनाउनुमा नेम्वाङको योगदान अतुलनीय रहेको उनको भनाइ छ।

यस्तै इलामको गहनाका रूपमा सानिमा हाइड्रोबाट सोयाङ हुँदै इलाम जोड्ने बाटो बनाउन नेम्वाङको महत्त्वपूर्ण योगदान रहेको श्रेष्ठले बताए। इलामका महत्त्वपूर्ण स्थानको विकासका लागि र व्यापारिक क्षेत्रलाई उक्त सडकले ठूलो टेवा पुर्याउने उनको विश्वास छ।

नेम्वाङले सहयोग गरेकै कारण इलाममा कोल्डस्टोर, सिटीमार्ट, गौतमबुद्ध सभाहलजस्ता संरचना निर्माण भएको सुन्तलाबारीकी सुशीला नेम्वाङको भनाइ छ। नगरलाई विभिन्न गाउँसँग जोड्ने सडक निर्माणका लागि दातृ निकायसँग सम्पर्क गरेर नेम्वाङले योजना ल्याएको उनले सुनाए। टेलिफोन विस्तार, विद्युतीय विस्तारमा टेवा पुर्याउनुका साथै इलाम अस्पताललाई गुणस्तरीय अस्पताल बनाउन नेम्वाङले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे सुशीलाको भनाइ छ।

सुन्तलाबारी गाउँका ९२ वर्षीय रनबहादुर लिम्बूले विगत सम्झँदै भने, 'उहाँको धेरै नबोल्ने गम्भीर स्वभाव थियो। गाउँमा कोहीले झगडा गर्‍यो भने ऊ रुन्थ्यो', राईले भने, 'भैझगडा मन नपराउने, धेरै नबोल्ने स्वभाव थियो।' गएको आम निर्वाचनमा आफूलाई भेटेको स्मरण गर्दै राई भन्नुहुन्छ, 'आशीर्वाद चाहियोभन्दा मैले चिताएको पुगोस् भनेको थिएँ। म जीवितै छु ऊ बितेको खबर सुन्दा मेरो भक्कानो छुट्यो।'

इलामको सुन्तलाबारीमा बाबु रामबहादुर नेम्वाङ र आमा अपिन्द्रकुमारीको कोखबाट २००९ फागुन २८ गते जन्मिएका नेम्वाङले आफ्नो बाल्यकाल त्यहीँ बिताएका थिए। बुवा अदालतको न्यायाधीश भएकाले नेम्वाङले इलाम सदरमुकामको सुन्तलाबारीस्थित आफ्नै घरमा बसेर विद्यालय र उच्च शिक्षा लिए। उनले कानुनमा स्नातक अध्ययन गरेका थिए।

इलाम क्षेत्र नं २ बाट पाँचौँपटक संसदीय निर्वाचनमा निर्वाचित प्रतिनधिसभा सदस्य नेम्वाङको निधनपछि इलाम स्तब्ध बनेको छ। यतिबेला यहाँका सबै राजनीतिक दलका नेता, कार्यकर्ताको एउटै बोली सुनिन्छ, ‘इलामको मियो ढल्यो’।  २०७९ सालको निर्वाचनमा नेम्वाङ आफ्नै ३० वर्षदेखिको विरासत जोगाउँदै एक सय १४ मतान्तरले विजयी बनेका थिए। नेम्वाङले ३० हजार २० मत ल्याउँदा कांग्रेस जिल्ला सभापति डम्बर खड्काले २९ हजार नौ सय छ मत ल्याएका थिए। नेम्वाङले निर्वाचन जितेको इलाम क्षेत्र नं २ मा इलाम र देउमाई नगरपालिका, माङ्सेबुङ, चुलाचुली, फाकफोकथुम गाउँपालिका, माई नगरका वडा ६, ७, ८ पर्छन्।  

विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेम्बाङ इलाम–२ बाटै ३६ हजर पाँच सय १७ मत ल्याएर विजयी बन्नुभएको थियो। प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव थापाले २६ हजार आठ सय ६० मत ल्याउनुभएको थियो। २०६४ सालको संविधानसभा निर्वाचनमा नेम्वाङले १७ हजार सात सय ४८ मत ल्याउँदा कांग्रेसका केशव थापाले १४ हजार ४४ मत ल्याए। २०७० को संविधानसभा निर्वाचनमा नेम्वाङले १४ हजार नौ सय ३० मत ल्याउँदा कांग्रेसका भेषराज आचार्यले १२ हजार आठ सय २८ मत ल्याएका थिए। (रासस)

प्रकाशित मिति: १३:४३ बजे, बुधबार, भदौ २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्