Kathmandu Press

शिक्षकले राजनीति गर्न,  दान-उपहार लिन, आफूखुसी लेख प्रकाशन गर्न नपाउने

आफ्नो विद्यालयको काममा बाहेक अन्यत्र नोकरी गर्न वा आर्थिक लाभ वा कुनै सुविधा प्राप्त गर्ने गरी परामर्शदाता, सल्लाहकार, विशेषज्ञ वा कुनै हैसियतले सेवा प्रदान गर्न पनि रोक लगाइएको छ।
शिक्षकले राजनीति गर्न,  दान-उपहार लिन, आफूखुसी लेख प्रकाशन गर्न नपाउने

काठमाडाैं, भदाै २७ : शिक्षकले राजनीतिक क्रियाकलापमा संलग्न हुन नपाउने व्यवस्था गरिएको छ। प्रतिनिधिसभामा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा त्यस्तो व्यवस्था गरिएको हो।

‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा शिक्षकहरुलाई राजनीतिक दल वा दलसँग आबद्ध संगठनको सदस्यता लिन, राजनीतिक गतिविधिमा भाग लिन, राजनीतिक पदका लागि हुने निर्वाचनमा भाग लिन, कसैको निम्ति मत वा चन्दा माग्न नपाइने भनिएको छ। शिक्षकहरुले विद्यार्थीको पढ्ने अधिकारमा बाधा पुग्ने गरी पठनपाठन बन्द गर्न, प्रदर्शन गर्न, बन्द हडतालल, घेराउ, बाधा अवरोध र थुनछेक गर्न पाउनेछैनन्।

शिक्षकहरुलाई आफूखुसी लेख, प्रकाशन र प्रसारण गर्न तथा तीन तहका सरकारबीचको पारस्परिक सम्बन्ध वा कुनै विदेशी राष्ट्रसँगको सम्बन्धमा खलल पर्न सक्ने गरी वा जनताबीचको आपसी सम्बन्धमा प्रतिकूल असर पर्ने गरी कुनै लेख प्रकाशन गर्न, रेडियो, टेलिभिजन वा सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक मन्तव्य दिन वा वक्तव्य प्रकाशन गर्न पनि पनि रोक लगाइएको छ।

शिक्षकहरुले दान, उपहार, चन्दा प्राप्त गर्न र सहयोग लिन नहुने व्यवस्था पनि विधेयकमा गरिएको छ। शिक्षकले दान आदि लिँदा विद्यालयको काम, विद्यार्थीको सिकाइ तथा मूल्यांकनमा प्रभाव पर्न सक्ने व्यख्यात्मक टिप्पणीमा उल्लेख छ। शिक्षण सिकाइलाई असर पर्न सक्ने भन्दै शिक्षकले स्थानीय तहको पूर्वस्वीकृति बिनाबैंक, कम्पनी, वा सहकारी संस्था स्थापना गर्न वा सञ्चालनको काममा भाग लिन तथा कानुन बमोजिम दर्ता गराउनु पर्ने कुनै पनि प्रकारको व्यापार व्यवसाय गर्न पनि नपाउने व्यवस्था विधेयकमा छ।

आफ्नो विद्यालयको काममा बाहेक अन्यत्र नोकरी गर्न वा आर्थिक लाभ वा कुनै सुविधा प्राप्त गर्ने गरी परामर्शदाता, सल्लाहकार, विशेषज्ञ वा कुनै हैसियतले सेवा प्रदान गर्न पनि रोक लगाइएको छ। तर राष्ट्रिय जनगणना, निर्वाचन, विपद, साहित्यिक, वैज्ञानिक, सांस्कृतिक, कलात्मक, मानवकल्याण, परोपकार, खेलकुद, दूर शिक्षामा भने संलग्न हुन पाइने व्यवस्था गरएिको छ। तर यी काम स्थानीय तहको पूर्वस्वीकृति लिएर विद्यालय समयबाहेकमा मात्र गर्न पाइनेछ।

प्रकाशित मिति: १३:०४ बजे, बुधबार, भदौ २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्