सिआइबीले सुन तस्करी प्रकरणको प्रतिवेदन आज बुझाउँदै
सिआइबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले आज रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइने र त्यसअघि पत्रकार सम्मेलन गरेर उक्त प्रकरणबारे जानकारी दिइने बताए।
काठमाडौं भदौ २७ : झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउँदै छ।
मंगलबार प्रतिवेदन तयार पारेको सिआइबीले आज रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउन लागेको हो।
सिआइबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले आज रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइने र त्यसअघि पत्रकार सम्मेलन गरेर उक्त प्रकरणबारे जानकारी दिइने बताए।
आरोपीहरुविरुद्ध संगठित अपराध, सुन चोरी पैठारीलगायत कसुरमा मुद्दा चलाउन राय दिने सिआइबीको तयारी गरेको पनि उनले बताए। सुन तस्करी प्रकरणमा अहिलेसम्म प्रहरीले ३१ जनालाई पक्राउ गरेकामा ३० जना प्रहरी नियन्त्रणमा छन्।
स्वास्थ्यका कारण एक जना हिरासत बाहिर राखेर अनुसन्धान गरिएको थियो। पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक पनि रहेका छन् । उक्त प्रकरणमा भन्सार एजेन्ट र सुन व्यापारीसमेत मुछिएका छन्।
संगठित अपराध कसुरमा म्याद थप गरेर सिआइबीले घटनाको अनुसन्धान गरेको थियो। उक्त प्रकरणमा प्रहरीले अनुसन्धानका लागि ६० दिन म्याद पाउँछ। भदौ ३१ गते ६० दिन पुग्ने भएकाले सो मितिसम्ममा मुद्दा अदालतमा पुर्याइसक्नुपर्ने हुन्छ। त्यसैले सरकारी वकिललाई तीन दिन मिसिल अध्ययन गर्न समय बाँकी हुन्छ।
गएको साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो।
विभागले आवश्यक अनुसन्धान सकेर १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०लाई दिएको थियो। ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम फेला परेको थियो। सुन अहिले राष्ट्र बैंकको संरक्षणमा छ।











