Kathmandu Press

बागमती प्रदेशमा अब नयाँ सहकारी दर्ता हुँदैनन् : मन्त्री महर्जन

उनले प्रदेशभित्रका जिल्लास्थित सरोकारवाला निकायलाई कुनै पनि प्रकारका नयाँ सहकारी दर्ता नगर्न आदेशसमेत दिइसकेको बताए।
बागमती प्रदेशमा अब नयाँ सहकारी दर्ता हुँदैनन् : मन्त्री महर्जन

काभ्रे, भदौ २६ : बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले बागमती प्रदेशभित्र अब कुनै पनि प्रकारका नयाँ सहकारी दर्ता नहुने बताएका छन्।

जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ) काभ्रेपलाञ्चोकको ४२औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले प्रदेशभित्रका जिल्लास्थित सरोकारवाला निकायलाई कुनै पनि प्रकारका नयाँ सहकारी दर्ता नगर्न आदेशसमेत दिइसकेको बताए।

‘सहकारीका विषयमा विभिन्न टीकाटिप्पणी र विभिन्न सहकारी समस्याग्रस्त भएकोबारे मन्त्रलायमा निवेदन आइरहेका छन्, परिस्थिति सवल नभएसम्म नयाँ सहकारी दर्ता नगर्न आदेश दिएका छौँ, नयाँ दर्ता भएका पनि छैनन्’, मन्त्री महर्जनले भने।

मन्त्री महर्जनले समस्याग्रस्त सहकारीले नियम, कानुन मिचेर कारोबार गरी नागरिकलाई झन्झट, दुःख दिएको पाइए कारबाही गर्ने चेतावनीसेमत दिए। उनले भने, ‘सही बाटोमा हिँडेका सहकारीलाई संरक्षण पनि गर्छौं, गलत गरेको पाइए कडा कारबाही गर्छौं, कसैलाई छुट दिँदैनौं।’

सहकारी धराशायी भए नागरिकको बचत पनि धराशायी हुने भएकाले सहकारी र बचतकर्ताबीचको विश्वास पुर्नर्जिवित गर्नुपर्ने आवश्यकता उनले औंल्याए।

‘स्थानीयस्तरमा आर्थिक अप्ठेरो पर्दा गर्जो टारेको र घरेलु उद्योग गर्नसमेत सहकारीले सहयोग गरेकाले पनि सरकारले सहकारी आन्दोलन बिर्सनुहुँदैन,’ उनले भने। उनले प्रदशेस्तरमा सहकारीको अनुगमन गर्ने छुट्टै समिति निर्माण गरिने उल्लेख गर्दै समस्याग्रस्त सहकारी घोषणाको तयारी भइरहेको बताए।

प्रकाशित मिति: २०:१९ बजे, मंगलबार, भदौ २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्