एमालेले भन्यो- नेम्वाङको निधन कम्युनिष्ट आन्दोलनकै लागि ठूलो पीडा
उनले सामाजिक आर्थिक रूपान्तरणको अभियान तथा लोकतन्त्र, सामाजिक न्याय, संविधान र विधिको शासन तथा मानवअधिकारका पक्षमा अविचलित रूपमा उभिने नेताको रूपमा परिचित रहेको बताएका छन्।
काठमाडौं, भदौ २६ : नेकपा एमालेले पार्टीका उपाध्यक्ष, संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबाट नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका साथै समग्र राष्ट्रकै लागि अपूरणीय क्षति पुगेको बताएको छ।
कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले आज शोक वक्तव्य जारी गर्दै नेम्वाङको अकल्पनीय, आकस्मिक र अत्यन्त दुःखद् निधनबाट पार्टी स्तब्ध र मर्माहत भएको बताएका छन्। उनले नेम्वाङको असामयिक देहावसानले एमाले पार्टी पङ्क्तिका लागि मात्रै नभई नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनकै लागि ठूलो पीडा र क्षति पुगेको उल्लेख गरेका छन्।
नेता नेम्वाङको आज बिहान १ः५० बजे उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको थियो। ‘उपाध्यक्ष नेम्वाङले राष्ट्र र जनताको हितमा पु¥याउनुभएको योगदानको उच्च मूल्याङ्कनसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ र उहाँको असल गुणहरूबाट निरन्तर प्रेरणा लिइरहने संकल्प गर्दछौं,’ शोक वक्तव्यमा भनिएको छ।
उनले सामाजिक आर्थिक रूपान्तरणको अभियान तथा लोकतन्त्र, सामाजिक न्याय, संविधान र विधिको शासन तथा मानवअधिकारका पक्षमा अविचलित रूपमा उभिने नेताको रूपमा परिचित रहेको बताएका छन्।
‘मृदुभाषी, सरल र कसैका आँखामा पनि नबिझाउने सार्वजनिक छवि निर्माण गर्नुभएका सुवासचन्द्र नेम्वाङ विभिन्न राजनीतिक दल र पक्षहरूसँग समन्वयका लागि विशिष्ट क्षमता राख्नुहुन्थ्यो,’ विज्ञप्तिमा भनिएको छ, ‘अत्यन्त जटिल र तनावपूर्ण अवस्थालाई पनि सहज तुल्याउँदै समस्याको निकास निकाल्न उहाँले धेरैपटक अविस्मरणीय भूमिका खेल्नुभएको छ।’
नेम्वाङले नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा असाधारण योगदान गरेको भन्दै संविधानसभाका अध्यक्षका रूपमा नेपालको संविधान निर्माण गर्ने ऐतिहासिक संविधानसभाको दुई–दुई पटक नेतृत्व गर्दै संविधान निर्माण गर्न अग्रणी भूमिका खेखेको उनको योगदान नेपालको इतिहासमा अमिट रूपमा स्थापित गरेको विज्ञप्तिमा उल्लेख गरे।
वि.सं. २००९ फागुन २८ गते रामबहादुर नेम्वाङ र अपिन्द्रकुमारी नेम्वाङको कोखबाट इलाम नगरपालिका–७ मा जन्मिएका नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन्।
नेम्वाङले पुनःस्थापित प्रतिनिधिसभा (२०६३), अन्तरिम संविधान जारी भएपछि गठित व्यवस्थापिका संसद् (२०६३), संविधानसभाको निर्वाचनपछिको व्यवस्थापिका संसद् (२०६५) तथा २०७० गरेर चारपटक सभामुखको जिम्मेवारी अत्यन्त कुशलतापूर्वक बहन गरेका छन्।
यस्तै २०४८ र २०५२ सालमा दुई पटकसम्म राष्ट्रियसभा सदस्य रहेका नेम्वाङ २०५१ सालमा मकानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री बनेका थिए। ‘उहाँ जनतामाझ कति लोकप्रिय हुनुहुन्थ्यो भन्ने कुराको पुष्टि उहाँ २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा सम्पन्न निर्वाचनमा इलामबाट निरन्तर विजयी भएको तथ्यबाट हुन्छ,’शोक वक्तव्यमा भनिएको छ ।
वि.सं. २०५६ मा प्रतिनिधिसभा सदस्यको रूपमा इलामबाट पहिलो पटक निर्वाचित भई सार्वजनिक लेखा समितिको सभापतिका रूपमा उनले खेलेको भूमिका उल्लेखनीय छ। आदर्श स्कुल, इलाममा पढ्दैदेखि वामपन्थी आन्दोलनको प्रभावमा रहनुभएका उनले त्रिचन्द्र कलेजबाट आइएस्सी उत्तीर्ण गरेका छन्।
उहाँ महेन्द्ररत्न क्याम्पस, इलाममा बीए पढ्दै गर्दा अनेरास्ववियुका तर्फबाट स्ववियु सभापति निर्वाचित हुनुभएको थियो। नेपाल ल क्याम्पस, काठमाडौँमा बीएल अध्ययन गर्दा सरकार विरुद्ध पर्चा छरेको आरोपमा राजकाज मुद्दामा सात महिनासम्म जेलजीवन बिताउनुभएको थियो।











