Kathmandu Press

ऐन संशोधन गरेर जनशक्ति अभाव हुन दिँदैनौं : मन्त्री बस्नेत

आफूले स्वास्थ्य जनशक्तिको समस्याका बारेमा मन्त्रिपरिषद्मा समेत कुरा उठाएको भन्दै उनले तत्काल प्रधानमन्त्री पुष्पकमल दाहालले यस विषयमा छलफल गरेर निष्कर्ष निकाल्न निर्देशन दिएको बताए।
ऐन संशोधन गरेर जनशक्ति अभाव हुन दिँदैनौं : मन्त्री बस्नेत

चितवन, भदौ २६ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गरेर स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव हुन नदिने बताएका छन्।

भरतपुर अस्पतालको आज निरीक्षणपछि उनले ऐन संशोधन नगरी पाँच वर्षभित्रमा स्वास्थ्यका जनशक्ति अभाव हुने बताएका हुन्। उनले भने, ‘ऐन संशोधन गरेर ६ महिनाभित्रमा स्वास्थ्यका जनशक्ति उत्पादन हुने गरी काम हुन्छ।’

आफूले स्वास्थ्य जनशक्तिको समस्याका बारेमा मन्त्रिपरिषद्मा समेत कुरा उठाएको भन्दै उनले तत्काल प्रधानमन्त्री पुष्पकमल दाहालले यस विषयमा छलफल गरेर निष्कर्ष निकाल्न निर्देशन दिएको बताए।

यससँगै शिक्षा, स्वास्थ्य मन्त्रालय र आयोगका बीचमा छलफल गरेर आयोगलाई आवश्यक निर्देशनसमेत दिएको उनले बताए। निर्देशनलाई आयोगले अवज्ञा गर्दै विज्ञप्तिसमेत निकालेको उल्लेख गर्दै उनले जसरी पनि दक्ष स्वास्थ्यका जनशक्ति उत्पादन गर्नेमा पछि नहट्ने बताए।
     
‘आफूहरुले दिएको निर्देशनलाई अवज्ञा हुने गरी आयोगले विज्ञप्ति निकाल्छ, निर्देशन आवश्यक छैन भन्छ,’ उनले बताए।

चिकित्सा शिक्षा आयोगले केही राम्रा काम गरेको भन्दै मन्त्री बस्नेतले केही समस्या सिर्जना भएको उल्लेख गरे। अहिलेको परिस्थिति निकै गम्भीर भएको भन्दै बताउँदै उनले भने, ‘विदेश जाने कुरालाई पनि रोक्ने, दरबन्दी पनि सिर्जना गर्न नसक्ने विचौलीको फन्दामा परेर हाम्रा नर्स विदेश जानुपर्ने र त्यहाँ पनि बिचल्ली हुने परिस्थिति छ।’

दरबन्दी बढाएर बेरोजगारलाई रोजगार दिएर सेवा दिने कुरा र ऐन संशोधन गरेर स्वास्थ्यका जनशक्ति उत्पादन गर्ने कुरा ६ महिनाभित्रमा गराएरै छाड्ने मन्त्री बस्नेतले बताए। उनले भने, ‘नेपालमा बसेर पढ्न पाइन्छ, नेपालमा काम पनि पाइन्छ । दुईवटै फिलिङ जनतालाई दिलाउँछु।’

 

प्रकाशित मिति: १७:२३ बजे, मंगलबार, भदौ २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्