सुवास नेम्वाङ : गुटगत स्वार्थबाटमुक्त समन्वयकारी नेता
नेम्वाङको योगदान र उनको व्यक्तित्व कस्तो थियो भन्ने आँकलन गर्न उनलाई श्रद्धाञ्जली दिएर एमालेको पार्टी कार्यालयबाट निस्कँदै गर्दा विशिष्ट व्यक्ति, नेतागत र कार्यकर्ताको आँखा रसाएबाट पनि झल्किएको बुझ्न सकिन्छ।
काठमाडौं, भदौ २६ : हृदयघातका कारण मंगलबार बिहान निधन भएका संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई श्रद्धाञ्जलि दिन एमालेको पार्टी कार्यालय, च्यासलमा पुगेका विशिष्ट व्यक्ति, राजनीतिक नेता र आम कार्यकर्ताले अप्रत्याशित निधन भएकामा दुःख व्यक्त गरेका छन्।
उनीहरुले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र न्यायिक क्षेत्रमा नेम्वाङले खेलेको भूमिकाको स्मरण गर्न गरे। श्रद्धाञ्जली दिन आउनेको लाइन र घुइँचो देख्दा लाग्छ, नेम्वाङ कुनै एक पार्टीको मात्र नभइ मुलुककै साझा नेता भएको भान हुन्थ्यो।
मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएका नेम्वाङप्रति श्रद्धाञ्जलि दिँदै उनका बाँकी सपना पूरा गर्ने सङ्कल्प श्रद्धाञ्जली र समवेदाना दिन आउनेमा प्रकट गरेका थिए। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी श्रद्धाञ्जली दिएर च्यासलबाट फर्कँदै गर्दा आँशु थाम्न सकिनन्।
श्रञ्द्धाजली दिँदै गर्दा एमालेका अनुशासन आयोगका अध्यक्ष केशव बडालले आँशु थाम्न सकेनन्। प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना, एमाले नेता एवं पूर्वमन्त्री वसन्त नेम्वाङ र उहाँकी श्रीमती भूमिका सुब्बा धरधरी रुँदै पार्थिव शरीर राखिएको सभाहलबाट बाहिर निस्किए।
यस्ता दृष्य आज बिहान शिक्षण अस्पताल र दिउँसो एमाले पार्टी कार्यालयमा देखिने क्रम रोकिएका छैनन।
नेम्वाङको योगदान र उनको व्यक्तित्व कस्तो थियो भन्ने आँकलन गर्न उनलाई श्रद्धाञ्जली दिएर एमालेको पार्टी कार्यालयबाट निस्कँदै गर्दा विशिष्ट व्यक्ति, नेतागत र कार्यकर्ताको आँखा रसाएबाट पनि झल्किएको बुझ्न सकिन्छ।
एमाले अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत शीर्ष नेताले पार्टीको सचिवालय बैठकपछि सामूहिकरुपमा गहिरो मनका साथ माला र फूल चढाएर भावपूर्ण श्रद्धाञ्जलि दिए। श्रद्धाञ्जली दिएपछि एमालेका शीर्ष नेता विश्राम गरेको स्थलमा विशिष्ट व्यक्ति र अन्य पार्टीका नेता पुग्ने र समवेदना आदानप्रदान गर्ने क्रम जारी छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, मन्त्रिपरिरषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वसभामुख ओनसरी घर्ती, माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव वर्षामान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, वामपन्थी नेताहरु सिद्धिलाल सिंह, सिपी गजुरेललगायत श्रद्धाञ्जलिका लागि च्यासल पुग्का थिए।
राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट कानुनी सल्लाहकार बाबुराम कुँवर, प्रेस सल्लाहकार किरण पोखरेल र छोरी अवज्ञा पौडेलले पनि च्यासल पुगेर नेम्वाङलाई श्रद्धाञ्जली दिए।
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल पहिलो संविधानसभा असफल भएपछिको दोस्रो संविधानसभामा पनि नेम्वाङ अध्यक्ष नहुनुभएको भए संविधान जारी हुन कठिन हुने टिप्पणी गरे। ‘नेम्वाङको कुशल नेतृत्व, हिम्मत र दृढताका कारण संविधान जारी हुन सफल भएको हो,’ उनले भने।
‘दुई दुई पटक संविधानसभाका अध्यक्ष भइसकेका नेता नेम्वाङको निधनबाट नेपाली राजनीतिमा अविस्मरणीय र अतुलनीय योगदान दिने व्यक्तित्व गुमाएका छौँ, पूर्वसभामुख एवं माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिएपछि भने। उनले नेम्वाङलाई राजनीतिक नेता र संवैधानिक ज्ञाता मात्र होइन एक बहुआयामिक व्यक्तिका रुपमा बुझ्ने बताए।
नेपाली कांग्रेसका नेता एवं सांसद् प्रदीप पौडेलले नेम्वाङ पार्टीगत गुटबन्दी र प्रभावबाटमुक्त रहेको बताए। उनले भने, ‘उहाँ विधिको शासनका पक्षधर र समन्वयकारी नेता हुनुहुनन्थ्यो।’
गत महिना सुन तस्करीको घटनामाथि उच्चस्तरीय छानबिनका लागि उनकै पार्टीले लगातार संघीय संसद्का बैठक अवरोध गरिरहेका बेला नेम्वाङले यसरी सदन अवरोध गर्ने विषय नियमावलीविरुद्ध भएको सार्वजनिक प्रतिक्रिया दिएपछि उनको साझा व्यक्तित्व झन् उजेलिएको थियो। त्यसको केही दिनपछि प्रमुख दलबीच उक्त विषयमा सहमति भई सदन खुलाउने संयोग पनि बनेको थियो।
नेम्वाङसँग लामो राजनीतिक सहकार्य गरेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलाममा नेम्वाङ र आफूबीच एकै पार्टीमा रहँदा एकले अर्काको निर्वाचन क्षेत्रमा चुनाव प्रचारप्रसारका लागि भाषण गर्न हिँडेको कुरा सबैभन्दा बढी स्मरणीय रहने बताए।
एमाले सचिव गोकर्णराज विष्टले एक अर्काविरुद्ध आरोप नलगाइकन आफ्ना कुरा निर्धक्क राख्न सक्ने र गाली राजनीतिबाट अलग रहेका कमै नेतामध्ये नेम्वाङलाई स्मरण गरे। यस्तै।, एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले नेम्वाङ एमालेका मात्र नभइ साझा नेता भएकाले मुलुककै लागि अपुरणीय क्षति भएको बताए।
एमाले सांसद् सूर्य थापाले नयाँ पिँढीलाई राजनीतिमा सधैं प्रोत्साहन गर्ने नेताका रुपमा नेम्वाङलाई सम्झिए भने स्वतन्त्र सांसद् डा. अमरेशकुमार सिंह नेम्वाङको निधनबाट निष्ठाको राजनीतिमा लामो समय उनको अभाव खड्किने उल्लेख गरे।
नेम्वाङप्रति श्रद्धाञ्जलि व्यक्त गर्न एमाले केन्द्रीय कार्यालयमा बुधबार बिहान ९ देखि दिउँसो १ बजेसम्म उहाँको पार्थीव शरीर राखिने छ।











