Kathmandu Press

कञ्चनपुरमा डेंगी रोगको सङ्क्रमण बढ्दो

उनका अनुसार सबैभन्दा बढी डेंगी रोगका सङ्क्रमित भीमदत्त नगरपालिकामा भेटिएका छन्। भीमदत्तका ८८ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ।
कञ्चनपुरमा डेंगी रोगको सङ्क्रमण बढ्दो

कञ्चनपुर, भदौ २६ : कञ्चनपुरमा केही सातायता डेंगी रोगको सङ्क्रमण बढेको छ।

स्वास्थ्य कार्यालयका अनुसार दुई महिनामा एक सय १८ जना डेंगी रोगका सङ्क्रमित भेटिएका छन् । यहाँ डेंगीको सङ्क्रमणबाट केही साताअघि एक जनाको मृत्यु पनि भएको थियो।

बेलौरी नगरपालिकाका-२८ वर्षीय हिक्मतबहादुर खत्रीको १२ भदौमा धनगढीको नोभा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

‘जिल्लाको सबैतिर सङ्क्रमण देखिएको छ, केही सातायता परीक्षण गर्दा डेंगीको सङ्क्रमण बढिरहेको देखिन्छ,’ स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले भने।

उनका अनुसार सबैभन्दा बढी डेंगी रोगका सङ्क्रमित भीमदत्त नगरपालिकामा भेटिएका छन्। भीमदत्तका ८८ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ।

मन्त्र हस्पिटलमा १२, दोधारा चाँदनीमा सात, पुनर्वासमा पाँच, बेलडाँडीमा दुई, बेलौरी, कृष्णपुर, शुक्लाफाँटा र बेदकोटमा एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको छ।

महाकाली प्रादेशिक अस्पतालमा बिरामी चाप बढेको छ। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टका अनुसार अस्पतालमा हाल ज्वरोका बिरामी बढेका छन्।

‘ज्वरो, डेङ्गी, स्क्रबटाइपस, टाइफाइड, सर्पदंशका बिरामीको चाप अहिले तुलनात्मक रुपले बढी छ,’ उनले भने, ‘बर्खामा पानी जम्ने र डेंगी सार्ने लाभा उत्पादन भएर रोग सार्छ।’

डेंगी एडिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। डेंगीका कारण उच्च ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी र जोर्नी दुख्नेलगायत लक्षण देखिने गरेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट भट्टले बताए।

प्रकाशित मिति: १५:४८ बजे, मंगलबार, भदौ २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्