Kathmandu Press

संसद् सञ्चालनका चुनौतीलाई सहज रूपमा अघि बढाउन खप्पिस थिए नेम्वाङ

संसद् सञ्चालनका क्रममा तत्काल आएका चुनौतीलाई सहजरूपमा अघि बढाउन खप्पिस नेम्वाङ प्रतिवाद गर्ने नेता तथा सांसदलाई व्यङ्ग्यात्मक र मीठो शैलीमा जवाफ दिएर सभालाई रोचक बनाउथे ।
संसद् सञ्चालनका चुनौतीलाई सहज रूपमा अघि बढाउन खप्पिस थिए नेम्वाङ

काठमाडौं, भदौ २६ : नेपाली राजनीतिमा निकै परिपक्क, शालीन, समन्वयकारी र सबैलाई मिलाएर लैजान सक्ने साझा व्यक्तित्वको छवि बनाएका संविधान सभाध्यक्ष सुवास नेम्वाङको निधनले नेपाली राजनीतिमा अपूरणीय क्षति पुगेको छ ।

विसं २००९ मा माता अपिन्द्रकुमारी र पिता रामबहादुर नेम्वाङको सुपुत्रका रूपमा जन्मेका नेम्वाङ नेपालको राजनीति र संवैधानिक क्षेत्रकै सुपरिचित व्यक्तित्व हुन् ।

उनले प्रतिनिधिसभा र अन्तरिम व्यवस्थापिकको सभामुख तथा पहिलो र दोस्रो संविधानसभा अध्यक्ष, नेकपा (एमाले) को उपाध्यक्ष र संसदीय दलको उपनेताको जिम्मेवारी सम्हाले ।

इलाम नगरपालिका–७ सुन्तलाबारी स्थायी ठेगाना रहेका नेम्वाङ पछिल्लो समय बालुवाटारस्थित निजी निवासमा बस्दै आएका थिए । प्राध्यापन, वकालत र राजनीतिलाई पनि उनले सँगसँगै अघि बढाएका थिए । 

उनको सबैलाई मिलाएर लैजान सक्ने समन्वयकारी क्षमताले समकालीन नेपाली राजनीतिका पत्याइएका अभिभावकजस्तै थिए । संसद् सञ्चालनका क्रममा तत्काल आएका चुनौतीलाई सहजरूपमा अघि बढाउन खप्पिस नेम्वाङ प्रतिवाद गर्ने नेता तथा सांसदलाई व्यङ्ग्यात्मक र मीठो शैलीमा जवाफ दिएर सभालाई रोचक बनाउथे ।

विसं २०५६, २०६४, २०७०, २०७४ र २०७९ को चुनावमा इलाम निर्वाचन क्षेत्र नं २ बाट विजयी नेम्वाङले नेपालको संसदीय लोकतान्त्रिक अभ्यासमा आफूलाई परिपक्व राजनीतिज्ञको रूपमा प्रमाणित गराउन सफल भए ।

पार्टीभित्र कतिपय मुद्दामा फरक विचार र धारणा राख्दै आएका नेम्वाङ पछिल्लोपटक दलले गर्दै आएको संसद् अवरोधप्रति असहमति जनाउँदै अभिव्यक्ति दिएका थिए । दलहरूबीच बेलाबखत घटना विशेषका कारण देखिने तिक्ततालाई निरन्तर वार्ता र संवादबाट सहमतिमा पुग्न सकिने धारणा राख्दै नेम्वाङले सबैसँग भेटघाट र वार्ता छलफलका लागि सहज थिए ।

सञ्चारकर्मीसँग निरन्तर सम्पर्कमा रहने नेम्वाङ कुनै घटना र सूचना प्राप्त गर्नासाथ त्यसको पुष्ट्याइँ र सूचना दिन निकै सहज थिए । उनका पिता स्व रामबहादुर न्यायाधीश थिए भने छोरा सुहाङ नेम्वाङ पनि कानुन व्यवसायी नै हुन् । कानुनसहित दुई विषयमा स्नातक नेम्वाङ लामो समय प्राध्यपन पेसामा रहनुभएकाले पार्टी प्रशिक्षणमा पनि अब्बल थिए । 

उनका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ । सधैँभर सिंहदरबारस्थित संसदीय दलको कार्यालय रहने नेम्वाङ गत शनिबार गृहजिल्ला पुगेर फर्केपछि रुघाखोकी लागेका कारण आएनन् । संविधानसभाबाट संविधान जारी गर्ने क्रममा उनले खेलेको भूमिका निकै महत्त्वपूर्ण रहेको उहाँका सहकर्मी नेताहरू बताउछन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्ण उनको योगदान स्मरण गर्दै भन्छन्, “संविधानसभाबाट संविधान जारी गर्न उहाँको ठूलो योगदान छ,  जसरी भए पनि संविधान जारी गर्नुपर्छ भनी त्यसबेला निकै चिन्तित थिए ।” (रासस) 

प्रकाशित मिति: ०९:०० बजे, मंगलबार, भदौ २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्