२६ लाखसहित पक्राउ सापकोटा अनुसन्धानलगत्तै घरबिदा लिएका थिए
बाहिरी जिल्लाको अनुगमन सकेर सापकोटा बिदामा घर जान लागेका थिए। विमानस्थलबाटै फरार भएको बताइएका अर्का कर अधिकृत दीपक पौडेल पनि सापकोटासँगै अनुगमनमा गएको तथ्य बाहिरिएको छ।
काठमाडौं, भदौ २५ : स्रोत नखुलेको २६ लाख रुपैयाँसहित नेपालगञ्ज विमानस्थलबाट पक्राउ परेका आन्तरिक राजस्व कार्यालय तुलसीपुरका अधिकृत खगेन्द्र सापकोटा अनुगमनपछि घरबिदामा रहेको तथ्य उजागर भएको छ।
बाहिरी जिल्लाको अनुगमन सकेर सापकोटा बिदामा घर जान लागेका थिए। विमानस्थलबाटै फरार भएको बताइएका अर्का कर अधिकृत दीपक पौडेल पनि सापकोटासँगै अनुगमनमा गएको तथ्य बाहिरिएको छ। कर अधिकृतद्वय सापकोटा र पौडेल चार दिनअघि रूकुम पश्चिमको आठबीसकोट क्षेत्रमा अनुगमन गर्न खटिएका थिए। अनुगमनलगत्तै घर बिदामा बसेका कारण उनीहरुको नियतमाथि शंका उत्पन्न भएको छ।
यी दुबै कर्मचारी पाँच महिनाअघि कर कार्यालय तुलसीपुरमा सरूवा भएर गएका थिए। स्रोत नखुलेको २६ लाख रुपैयाँसहित कर अधिकृत सापकोटा नेपालगञ्ज विमानस्थलबाट सोमबार बिहान पक्राउ परेका थिए।
श्री एयरलाइन्सको जहाजमार्फत् काठमाडौं जान लागेका सापकोटालाई चेकजाँच गर्दा उनको साथबाट स्रोत नखुलेको २६ लाख रकम फेला परेको थियो। सापकोटासँगै रहेका अर्का कर्मचारी पौडेल भने भाग्न सफल भएका थिए। पौडेल भागेका कारण पनि बरामद भएको रकम अबैध रहेको आशंका बढेका छ। फरार कर्मचारी पौडेलको खोजी कार्य भइरहेको छ।
पक्राउ परेका सापकोटालाई थप अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगञ्जको जिम्मा लगाइएको छ।











