सर्वाेच्चकाे परमादेशले राजनीतिक दुर्घटनाकाे खतरा बढ्याे : नेता डा. कोइराला

रामेछाप, भदौ २४ : नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले देश निर्माणमा नेपाली कांग्रेस एकजुट भएर अगाडि बढ्नुको कुुनै विकल्प नरहेको बताएका छन्।
कांग्रेस रामेछापले मन्थलीले ११०औं विपी जन्मजयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा उनले गुटकै कारण पार्टी कमजोर भएको स्वीकार्दै कांग्रेस पार्टी बिना गुट र बिना साहारा एक्लै लड्न तयार रहनुपर्ने बताए।
‘परिवर्तनका लागि लामो इतिहास बोकेको कांग्रेस विचारकै कारण उत्कृष्ट पार्टी रहेको र यसको कार्यान्वयनमा सबै नेता कार्यकर्ता इमान्दार हुनुपर्दछ,’ उनले भने, ‘म अठोटका साथ भन्छु, कांग्रेसले एकजुट भएर आफ्नो विचारका आधारमा अगाडि बढेमा कुनै पनि शक्तिले कहिलै पनि हराउन सक्दैन।’
नेता डा. कोइरालाले अहिले कांग्रेसको केन्द्रदेखि जिल्ला तहसम्म गुट र उपगुट रहेको बताउँदै त्यसलाई अधिवेशनमा मात्रै उपयोग गर्नुपर्ने र पार्टीको अधिवेशन सकिएपछि सबै मिलेर अगाडि बढ्नुपर्ने उल्लेख गरे।
कार्यकर्ताले आवश्यकता महसुस गरे आफूले आगामी महाधिवेशनमा सभापति पदमा उमेदवारी दिनसक्ने बताए। उनले चाहना बुझ्न देश दौडाहामा जाने र सो क्रममा कार्यकर्ताले गरेको मूल्यांकनका आधारमा १५औँ महाधिवेशनमा सभापति पदमा उमेदवारी दिन चाहेको पनि बताए।
कांग्रेसको शक्ति भनेको बिपीको विचार भएकाले पार्टी यो विचारबाट विचलित हुन नहुने उनको भनाइ छ। विपीले ७० वर्ष अगाडि दिएको विचारबाट पार्टी विचलित नभएको खण्डमा मुलुकका सबै शक्ति मिले पनि कांग्रेसलाई केही असर नहुने पनि कोइरालाले ठोकुवा गरे।
उनले कोशी प्रदेशमा कांग्रेस संसदीय दलका नेतालाई मुख्यमन्त्रीबाट हटाउनका लागि परमादेश गरेर सर्वोच्च अदालतले गलत काम गरेको पनि बताए। राजनीति भनेको राजनीतिज्ञले गर्ने विषय भएको र सबै कुरामा सर्वोच्चलाई समावेश गर्ने परिपाटीले मुलुकमा राजनीतिक दुर्घटनाकाे खतरा बढाएको उनले बताए।
नेता डा.कोइरालाले आफू धार्मिक स्वतन्त्रताको पक्षपाति भएको भन्दै मुलुकमा धार्मिक स्वतन्त्रता आवश्यक रहेको पनि बताए।











