भाटभटेनीका सञ्चालकलाई अनाहकमा पक्राउ गरेर दुःख दिइयाे, यतीलाई पनि लखेटियाे : ओली
भारी बोकेर हिँड्ने, खाली खुट्टा हिँड्ने गुरुङले यत्रा भाटभटेनी चलाएर पुँजीपति हुने भन्ने आँखाले देख्न नसकेर खेद्ने काम भएको उनले बताए।
काठमाडौं, भदौ २४ : एमाले अध्यक्ष केपी ओलीले ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालकलाई अनाहकमा पक्राउ गरेर दुःख दिएको बताएका छन्।
एमालेको सहकारी तथा गरिबी निवारण विभागको आइतबार आयोजित कार्यक्रममा अहिलेको सरकारले राष्ट्रिय उद्यमीहरुलाई छानीछानी कारबाही गरेको, राष्ट्रिय पुँजीपतिलाई खेदेको आरोप लगाउँदै उनले भने, ‘मीनबहादुर गुरुङलाई किन समातेको, किन कारबाही गरेको? ५–६ जनाले किनिसकेको जमिन, उसले त धनीपुर्जा हेर्यो, धनीपुर्जा भएको मान्छेसँग किन्यो त।’
भारी बोकेर हिँड्ने, खाली खुट्टा हिँड्ने गुरुङले यत्रा भाटभटेनी चलाएर पुँजीपति हुने भन्ने आँखाले देख्न नसकेर खेद्ने काम भएको उनले बताए। काठमाडौं जिल्ला अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेर थुनामा रहेका गुरुङलाई २ करोड ४६ लाख धरौटीमा छाड्न आलेश दिएको छ।
उनले यती होल्डिङ्सलाई पनि सरकारले दुःख दिएको ओलीले टिप्पणी गरे। ‘यती होल्डिङ्सलाई खेद्नेहरु दलाल पुँजीवादीहरु हुन्। त्यसकारण उनीहरु खेद्छन्, किनभने त्यो राष्ट्रिय पुँजी हो। सोलुको एउटा शेर्पा भारी बोकेर हिँड्थ्यो रे बच्चैदेखि, त्यस्तो मान्छे अहिले हवाइजहाज पनि उडाएको छ, पयर्टन पनि चलाएको छ, होटल पनि चलाएको छ, हेलिकप्टर पनि चलाएको छ, गर्न पाइन्छ?
भारी बोकेर हिँड्ने शेर्पाले उसले कमाएको सम्पत्ति स्वीटजरल्याण्डमा लाँदैन, माल्दिभ्समा लाँदैन, श्रीलंकामा लाँदैन, बंगलादेश लाँदैन, भारत लाँदैन, मुम्बइमा होटल छैन, श्रीलंकामा होटल छैन, यस्तालाई पनि गर्न दिन्छ भनेका भन्यै छन् माओवादीहरु ।’
सरकारले भन्ने गरेको भ्रष्टाचार र अनियमितताविरुद्धको कारबाहीलाई ओलीले दलाल पुँजीपतिको फण्डा र तमासा भएको जिकिर गरे।
ओलीले भ्रष्टाचार र अनियमितता विरुद्ध कारवाही गर्ने नाममा सरकारले पोलिटिकल स्टन्ट गरेको तर्क गरे। उनले कोरोना र विश्वपरिवेशको अवस्थामा समस्यामा परेका व्यवसायीहरुमाथि गठबन्धन सरकार आउदा चट्याङ परेकोजस्तो भएको बताए। राज्यको गलत नितिका कारण अर्थव्यवस्था धराशयी हुँदा व्यसायीहरु पनि अप्ठेरोमा परेको भन्दै उनले अप्ठेरोमा परेका बैंकहरुले पनि सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
उनले कांग्रेस नीतिगत हिसाबले सहकारीको पक्षमा नरहेको र माओवादीलाई पनि सहकारी नीतिप्रति सरोकार नरहेको जिकिर गरे। दुई चार क्वीन्टल सुन ल्याउन जस्तो फाइदा सहकारीमा नरहेको विचार माओवादीको रहेको उनको भनाइ थियाे। अध्यक्ष ओलीले जनताको आत्मनिर्भरता निर्माण गर्न सहकारीको सदुपयोग गर्नुपर्ने र यसलाई माध्यम बनाउनुपर्ने धारणा राखे। सहकारीलाई स्वार्थका आधारमा सञ्चालन गर्न खोज्दा केहि सहकारीमा समस्या देखिएको उनको भनाइ छ ।











