ललिता निवास प्रकरण : पक्राउ परेका १७ जनालाई धरौटीमा र एकजनालाई सामान्य तारेखमा छाड्न आदेश
न्यायाधीश भोलानाथ ढकालको इजलासले केशव तुलाधरलाई सामान्य तारेख र अरू १७ जनालाई धरौटीमा छाड्ने आदेश दिएको अदालत स्रोतले जनाएको छ।
काठमाडौं, भदौ २४ : जिल्ला अदालत काठमाडौंले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका एकलाई सामान्य तारेखमा रअरूलाई धरौटीमा छाड्ने आदेश दिएको छ।
न्यायाधीश भोलानाथ ढकालको इजलासले केशव तुलाधरलाई सामान्य तारेख र अरू १७ जनालाई धरौटीमा छाड्ने आदेश दिएको अदालत स्रोतले जनाएको छ। धराैतीमा छाड्न आदेश दिइनेमा व्यवसायी मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलगायत व्यक्तिहरू पक्राउ परेका थिए।
भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी मागिएको बताइएकाे छ। तोकिएको धरौटी बुझाएपछि उनीहरु छुट्नेछन् भने धरौटी बुझाउन नसके थुनामा जानेछन्।
बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा १८ जनाविरूद्ध मुद्दा चलाएको थियो।
यस प्रकरणमा प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २८९ जनालाई प्रतिवादी बनाएको थियो। २१ जना प्रतिवादीको भने मृत्यु भइसकेको भन्दै नाम उल्लेख गरी मुद्दा दायर गरेको हो।
यस प्रकरणमा अदालतमा प्रतिवादीका तर्फबाट ५० जना कानुन व्यवसायीले बहस गरेका थिए। सरकारी वकिलका तर्फबाट ८ जनाले बहस गरेका थिए। जवाफी बहसको क्रममा दुई जना सरकारी वकिलले मात्रै बहस गरे।











