Kathmandu Press

सशस्त्र युद्धका घाइतेहरुको चेतावनी : पार्टी र नेताको नाममा संयुक्त आत्मदाह गर्छौं

आइतबार काठामाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले जनयुद्धका घाइते र अपाङ्गहरु तड्पिएर बाँच्न बाध्य रहेको भन्दै उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।
सशस्त्र युद्धका घाइतेहरुको चेतावनी : पार्टी र नेताको नाममा संयुक्त आत्मदाह गर्छौं

काठमाडौं, भदाै २४ : जनयुद्ध, जनआन्दोलन तथा अपाङ्ग संघर्ष समितिका पीडितहरुले घाइते तथा अपांगता भएका व्यक्तिहरुको उचित व्यवस्थापन नगरिए सामूहिक आत्मदाह गर्ने चेतावनी दिएका छन्। 

आइतबार काठामाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले जनयुद्धका घाइते र अपाङ्गहरु तड्पिएर बाँच्न बाध्य रहेको भन्दै उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्। जनयुद्धका घाइते चेतन सिग्देलले सरकारले आफूहरुलाई गाँस, बास, कपास र औषधोपचारको व्यवस्था गर्नु पर्ने बताए। आफूहरुको व्यवस्थापनलाई राज्यले नजर अन्दाज गरे आत्मदाह गर्ने उनको चेतावनी छ। 

‘हामी काम गरिखान नसक्ने घाईते कयौं साथीहरुका लागि राज्यले तुरुन्तै गाँस, बास, कपास र औषधोपचारको व्यवस्था गरोस्। यदि हाम्रो समस्याको बेवास्ता गरियो भने हामीहरु संघर्षमा जानेछौं,’ उनले भने, ‘पार्टी र नेताको नाममा संयुक्त आत्मदाह पनि गर्नेछौं। हाम्रो समस्याको बेवास्ता गरियो भने क्यान्टोनमेन्टभित्रको वास्तविकता पनि बाहिर ल्याउनेछौं।’ 

नेताहरुलाई जंगलदेखि महलसम्म पुर्याउन बारुद र छर्रा शरीरमा बोकी जनयुद्ध लडेका घाईते, अपाङ्गले औषधोपचारका लागि व्यक्तिगत सम्पत्ति बेचेर पनि नपुग्ने अवस्था रहेको उनीहरुको भनाइ छ। जनयुद्धका घाईते, अपाङ्गहरु हातमुख जोर्न र औषधोपचार गर्न नसक्दा आत्महत्या गर्ने परिस्थितिमा रहेको भन्दै उनीहरुले राज्यले गरिखान नसक्ने अवस्थामा रहेकाहरुको जिम्मा लिनु पर्ने माग राखे। 

पूर्वजनमुक्ति सेनाका कमाण्डर  लाहानु चौधरीले प्रधानमन्त्री प्रचण्डले जनुमक्ति सेनालाई तत्कालिन प्रधान सेनापति रुकमाङ्गद कटुवालको अगाडि प्यारालाईज गराएको आरोप लगाए। प्रचण्ड संसदीय व्यवस्था स्वीकार गरेर खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँमा आइपुगेको उनको टिप्पणी छ। 

प्रकाशित मिति: १३:५३ बजे, आइतबार, भदौ २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्