‘नेपाल समाजवाद उन्मुख राष्ट्र भनेर संविधानमा लेखिए पनि त्यसको मर्मअनुसार अभ्यास भएकाे छैन’

काठमाडाैं, भदाै २४ : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले संविधानमा उल्लेख समाजवादको मर्मअनुसार अभ्यास गर्न नपाएको बताएका छन्।
आइतबार पार्टी कार्यालय सानेपामा पार्टीले आयोजना गरेको तीन दिने ‘बिपी साहित्य महोत्सव’को उद्घाटन गर्दै सभापति देउवाले नेपाल समाजवाद उन्मुख राष्ट्र भनेर संविधानमा नै लेखेको भए पनि यसको मर्मअनुसार अभ्यास गर्न नपाएको बताएका हुन्।
उनले समयको अन्तरालसँगै मुलुक पनि बिपीले देखाएको प्रणालीमा अघि बढेको तर विभिन्न कारणले स्थायित्व नपाएको जिकिर गर्नुरे। कांग्रेस बहुदलीय संसदीय शासन प्रणाली र प्रजातान्त्रिक समाजवादी अर्थ व्यवस्थालाई आफ्नो मूल सिद्धान्त र आर्दश कायम गरेर अघि बढेको उहाले बताए।
विपीकै चिन्तनले मुलुक समृद्ध बनाउन सकिने र प्रयत्न भइरहेको भन्दै उहाँले नेपालका सबै राजनैतिक दलहरुले कुनै न कुनै दृष्टिकोणले अहिले पनि बिपी बिचारको अनुकरण गर्दै आएको बताए।
सभापति देउवाले राज्यको सिमा र सार्वभैमिकताका लागि सबै छिमेकी मित्रराष्ट्रका समकक्षीसँग मित्रवत ढङ्गले स्वाभिमानका साथ आफ्नो मुलुकका पक्षमा बोल्नु र निर्णय गराउनु बिपीको स्वभाव रहेको जिकिर गरे।
'समयको अन्तराल संगै आज हाम्रो मुलुक पनि बिपीले देखाएको प्रणालीमा अघि बढेको छ तर विभिन्न कारणले स्थायित्व पाएको छैन। नेपाल समाजवाद उन्मुख राष्ट्र भनेर संविधानमा नै लेखेका छौं तर यसको मर्म अनुसार अभ्यास गर्न पाएका छैनौं,' उनले भने, 'नागरिकका कैयौं अभाव, समस्या, असन्तुष्टी र समाजमा देखिएका विभेद विसंगतिलाई बिपीको आर्थिक, सामाजिक तथा धार्मिक सांस्कृतिक एवं राजनीतिक विचारले समाधान दिन सक्छ भन्ने दृढ विश्वास हुँदाहुदै पनि उहाँको विचारलाई हरेक पुस्ताका नागरिकहरू वीच पर्याप्त वहस र छलफल गराउन नसक्नु हाम्रा पनि केहि कमजोरीहरू छन्।'
बिपी राष्ट्रिय मात्रै होइन अन्तर्राष्ट्रिय तहको नेता, राजनैतिक विचारक र साहित्यकार भएकाे र सबै किसिमका विभेदविरूद्ध आगो ओकल्ने गरेकाे उनले बताए। 'उहाँ समावेशिता र सधै नागरिकको न्याय, समानता र स्वतन्त्रताको पक्षमा लडिरहनुभयो भने राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि पहाड झै उभिनुभयाे,' उनले भने, 'अन्तर्राष्ट्रिय सम्बन्धका मामिलामा उहाँ सवैको सह–अस्तित्व र सम्मानलाई उच्च मान्यतामा राख्नुहुन्थ्यो भने राज्यको सिमा र सार्वभैमिकताका लागि सबै छिमेकी मित्रराष्ट्रका समकक्षीहरुसँग मीत्रवत ढंगले स्वाभिमानका साथ आफ्नो मुलुकका पक्षमा बोल्नु हुन्थ्यो र निर्णय गराइछाड्नुहुन्थ्यो।'
बिपी कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजना एवं नेपाली लेखक सङ्घको संयोजनमा सुरु महोत्सव भाद्र २६ गतेसम्म चल्ने कांग्रेसले जनाएको छ। कांग्रेसले जननायक बिपी कोइरालाको जन्मदिन भदौ २४ गतेलाई हरेक वर्ष बिपी जन्मजयन्तीका रूपमा मनाउँदै आएको छ।











