काेशीमा कांग्रेससँग मिलेर सरकार बनाउन एमाले तयार छ : उपमहासचिव ज्ञवाली
प्रधानमन्त्रीको चीन भ्रमणबारे राय सुझाव दिन प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित छलफलपछि उनले कोशी प्रदेशप्रति वितृष्णा बढाउने र कोशीमा मध्यावधि निर्वाचनमा जाने दुवै मनसाय एमालेको नभएकोले कांग्रेससंग सहकार्य गर्न तयार रहेको बताए।
काठमाडौं, भदाै २४ : एमाले उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेससँग मिलेर सरकार बनाउन एमाले तयार रहेको बताएका छन्।
प्रधानमन्त्रीको चीन भ्रमणबारे राय सुझाव दिन प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित छलफलपछि उनले कोशी प्रदेशप्रति वितृष्णा बढाउने र कोशीमा मध्यावधि निर्वाचनमा जाने दुवै मनसाय एमालेको नभएकोले कांग्रेससंग सहकार्य गर्न तयार रहेको बताए।
प्रदेशमा निषेधको राजनीति बन्द गर्नुपर्ने धारणा राख्दै उनले कांग्रेसलाई सरकार निर्माणमा मनाउने प्रयत्न गर्ने बताए। उनले भने, ‘त्यहाँ (कोशी) मा जुन ढंगको शक्ति सन्तुलनको अवस्था छ। निषेध गरेर जाने खालको बाटोमा नजाउ। उहाँहरुले निषेध गर्न कोसिस गर्नुभयो, संविधान मिच्ने कामहरु भए त्यसको परिणाम आजपनि हामीले भोगिरहेका छौ। अबपनि त्यहि बाटोमा जाने हो भने यात प्रदेशप्रतिको वितृष्णा एकदमै बढेर जान्छ यात त्यसको समाधानका निम्ति नयाँ चुनावमा जानुपर्ने हुन्छ। दुवै कुरा अहिले हाम्रो प्राथमिकतामा छैनन्।’
उनले मध्यावधि निर्वाचनमा जाने रुचि एमालेको नभएको र प्रदेशप्रति नागरिकको वितृष्णा बढोस् भन्ने पनि नचाहेको स्पष्ट पार्दै प्रदेशमा सरकार निर्माणको लागि नेपाली कांग्रेसको साथ माग्ने बताए। उनले प्रदेशको हित र संविधानको रक्षार्थ कोशीमा एमालेलाई कांग्रेसले जिम्मेवार रुपमा साथ दिनुपर्ने धारणा राखे।
‘मध्यावधिमा जाने पनि हाम्रो रुचि छैन र प्रदेशप्रति नै वितृष्णा बढोस भन्ने पनि हामी चाहँदैनौ। त्यसैले नेपाली कांग्रेसले एउटा जिम्मेवार भूमिका खेलोस् भन्ने हाम्रो प्रयास हुने छ। हामी उहाँहरुसँग सम्वादमा छौं’, ज्ञवालीले भने।











